×

रिपोर्ट अनुसार सन् २०२१ मा विश्वमा २ खर्ब ३० अर्ब पटक विभिन्न मोबाइल एपहरु डाउनलोड भएका छन् भने त्यसमा मानिसहरुले १ खर्ब ७० अर्ब डलर रकम खर्च गरेका छन् ।

गत अंग्रेजी वर्षमा विश्वमा सबैभन्दा धेरै डाउनलोड भएको एप टिकटक बनेको छ । सन् २०२० को तुलनामा मानिसहरुले टिकटकमा बिताउने समय सन् २०२१ मा ९० प्रतिशतले बढेको छ । सन् २०२२ को दोश्रो अर्धवार्षिक सम्ममा विश्वमा टिकटकका मासिक सक्रिय प्रयोगकर्ताको संख्या डेढ अर्ब पुग्ने प्रक्षेपण एप एन्नीको छ ।

एप एन्नीका प्रमुख कार्यकारी थियोडोर क्रान्जका अनुसार स्मार्टफोनले व्यतित समय, डाउनलोड तथा आम्दानी लगायतका भर्चुअल संसारका सबै विधामा कीर्तिमान भंग गरिरहँदा ठूलो स्क्रिनका उपकरणहरु विस्तारै मृतप्रायः बन्दैछन् ।

Ap Anne’s State of Mobile शीर्षकको रिपोर्ट अनुसार मानिसहरुले मोबाइल फोनमा दैनिक बिताउने औसत समय सन् २०१९ को तुलनामा ३० प्रतिशतले बढेको छ ।

रिपोर्ट अनुसार ब्राजिल, इण्डोनेसिया र दक्षिण कोरियामा मानिसहरुले मोबाइल फोनमा बिताउने समय ५ घण्टाभन्दा बढी छ ।

त्यसरी बिताउने समयमध्ये ७० प्रतिशत सोसल मिडिया, फोटो तथा भिडियो एपमा बिताउने गरेका छन् ।

रिपोर्ट अनुसार सन् २०२१ मा २० लाख नयाँ मोबाइल एप तथा गेमहरु लञ्च भए र १० करोड डलर भन्दा धेरै आम्दानी गर्ने मोबाइल एपको संख्यामा २० प्रतिशतले वृद्धि भएको छ ।

युट्युब विश्वमा सबैभन्दा लोकप्रिय भिडियो स्ट्रिमिङ एपको रुपमा रहेको छ र सन् २०२१ मा विभिन्न ६० वटा देशमा गरी १० लाख पटक भन्दा धेरै डाउनलोड भएको छ । दोस्रो स्थानमा नेटफ्लिक्स रहेको छ ।

सन् २०२१ मा विश्वमा मोबाइल गेममा १ खर्ब १६ अर्ब डलर खर्च भएको छ । धेरै खर्च गरिएका मोबाइल गेममा हेयर च्यालेन्ज तथा ब्रिज रेसलगायतका छन् । सन् २०२१ मा मोबाइल एपमा हुने विज्ञापनमा २ खर्ब ९५ अर्ब डलर खर्च भएको छ ।

सन् २०२१ मा विश्वमा सपिङ एपमा बिताउने समयमा तीव्र वृद्धि भएको छ र मानिसहरुले १ खर्ब घण्टाभन्दा धेरै समय बिताएका छन् । त्यस्तै खाना तथा पेय एपहरुमा पनि ठूलो वृद्धि देखिएको छ ।

त्यस्तै डेटिङ एपमा भएको खर्चमा पनि तीव्र वृद्धि भई ४ अर्ब डलर पुगेको छ । यो रकम सन् २०१८ को तुलनामा ९५ प्रतिशतले बढी हो । बीबीसी

Back to top