वीरगञ्ज, २१ पुष । सामुदायिक सेवा केन्द्र तथा सामुदायिक प्रहरी सेवा केन्द्र श्रीपुर मुर्लीको आयोजनामा बालविवाह, महिला हिंसा तथा जबरजस्ती करणी सम्बन्धी सचेतना कार्यक्रम सम्पन्न भएको छ ।
वीरगञ्ज महानगरपालिका वडा नम्बर १८ भवानीपुरस्थित श्री नेपाल राष्ट्रिय आधारभुत विद्यालयको प्राङ्गनमा सचेतनामुलक कार्यक्रम सम्पन्न भएको हो । वीरगञ्ज महानगरपालिका वडा नम्बर १८ का वडा अध्यक्ष ब्रह्मदेव राउत कुर्मीको अध्यक्षतामा भएको कार्यक्रमलाई सम्बोधन गर्दै जिल्ला प्रशासन कार्यालय पर्साका प्रमुख जिल्ला अधिकारी उमेश कुमार ढकालले सामाजिक कुरितीको विरुद्धमा जागरुप हुनुपर्नेमा जोड दिए । प्रजिअ ढकालले प्रशासनमा पनि सामाजिक कुरितिविरुद्ध पर्ने उजुरीको संख्यामा कमी आएको बताउँदै केही हदसम्म नागरिकमा चेतनास्तर बढ्दै गएकोमा खुशी व्यक्त गरे ।
समुदाय प्रहरी साझेदारी कार्यक्रमअन्र्तगत आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै सशस्त्र प्रहरी उपरीक्षक राजेन्द्र खड्काले दाइजो तथा बालविवाह जस्ता कुप्रथाहरु समाज विकासका बाधक भएको बताए । खड्काले यस्ता बाधकहरुको अन्त्य गरेर समाजलाई प्रगतीपथमा लैजानका लागि सहभागीहरुलाई अपिल गरे ।
कार्यक्रममा स्वागत मन्तव्य व्यक्त गर्दै जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुख प्रहरी उपरीक्षक रमेश कुमार बस्नेतले प्रहरीले अपराध न्युनिकरणसँगै सामाजिक सचेतनाका कार्यक्रमलाई पनि प्राथमिकता दिँदै आएको बताए । दाइजो, बालविवाह, महिला हिंसा, जबरजस्ती करणी जस्ता अपराधहरुको अन्त्यका नागरिकको सहयोगबिना असम्भव भएको प्रहरी उपरीक्षक बस्नेतको भनाई छ ।
यस्तै सामुदायिक सेवा केन्द्र तथा सामुदायिक प्रहरी सेवा केन्द्र मुर्लीका अध्यक्ष रामकुमार सर्राफले दाइजो लिन र दिन दुवै बन्द गर्नुपर्नेमा जोड दिए । आफुले पनि आफ्ना छोराछोरीको बिवाह बिना दाइजो गराउने प्रतिबद्धता जनाउँदै अरुलाई पनि दाइजो बिना पनि राम्रो परिवारमा बिवाह हुन सक्ने बताए ।
कार्यक्रममा अधिवक्ता अभय दास थारुले अपराध र कानुनी सजायको बारेमा प्रकाश पारेका थिए । सो अवसरमा सामाजिक कार्यहरुमा सरिक भएर दिएको योगदानको मूल्यांकन गर्दै कार्यक्रम व्यवस्थापक मनिषसिँह राजपुतसहित ६ जनालाई सम्मान पत्रमार्फत सम्मानसमेत गरिएको सामुदायिक सेवा केन्द्र मुर्लीका सचिव दिलिप प्रधानले जानकारी दिए ।
भोजपुरी गायक सुनिल पण्डितले महिला हिंसा अन्त्य सम्बन्धमा सांस्कृतिक प्रस्तुत गरेको कार्यक्रममा दाइजो प्रथा, बालविवाह एवम् लागु औषध दुव्र्यसनको विरुद्धमा रामनिवास देहातीद्वारा निर्देशित सचेतनामुलक नाटकसमेत प्रस्तुत गरिएको थियो ।
नाटकको समिक्षा गर्दै नृसिँह मा.वि.मा सामाजिक विषय अध्यापन गराउने शिक्षक एवम् समाजसेवी दिलिपराज कार्कीले परिवर्तनको सुरुवात आफैबाट गर्नुपर्ने बताए । मानसिकत विकास नहुँदासम्म समाज विकास हुन नसक्ने तर्क गर्दै सर्वप्रथम सोच बदल्नुपर्ने कार्कीको भनाई छ ।
कार्यक्रममा जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी नायब उपरीक्षक प्रह्लाद कार्की, जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्साका प्रमुख प्रहरी निरीक्षक सुमन कार्की, जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी निरीक्षक सोभन राना, वडा प्रहरी कार्यालय विर्ताका प्रमुख प्रहरी निरीक्षक राजेशराज पुरी, वडा प्रहरी कार्यालय श्रीपुरका प्रमुख प्रहरी निरीक्षक दिनेश गौतम, ग्रिनसिटी सामुलदायिक सेवा केन्द्र आदर्शनगरका अध्यक्ष जयप्रकाश खेतान, वीरगञ्ज युवा समाजका अध्यक्ष कमल चौगाई, ओबिसि महासंघका केन्द्रिय उपाध्यक्ष अकलेश साह, सामुदायिक सेवा केन्द्र मुर्लीका बरिष्ठ सल्लाहकार पुरुषोत्तम दुवे लगायत सामुदायिक सेवा केन्द्रका पदाधिकारी, सुरक्षाकर्मी, सञ्चारकर्मी एवम् स्थानीयको उल्लेख्य उपस्थिती रहेको थियो ।
सञ्चारकर्मी सूर्यनारायण वि.क.ले सहजीकरण गरेको कार्यक्रममा नेपाल राष्ट्रिय आधारभुत विद्यालय भवानीपुरका विद्यार्थीहरुले सन्देशमुलक नृत्य प्रस्तुत गरेका थिए ।
