×

सरकारी स्वामित्वको दूरसञ्चार कम्पनी नेपाल टेलिकमले फोरजी विस्तारको काममा तीव्रता दिन नसकेको भन्दै आगामी कार्ययोजना पेश गर्न संसदको विकास तथा प्रविधि समितिले निर्देशन दिएको छ ।

अघिल्लो आर्थिक वर्षमै सबै स्थानीय तहमा फोरजी विस्तार गरिसक्ने लक्ष्य रहेपनि अझै ४३ स्थानीय तहमा सेवा विस्तार हुन नसकेको भन्दै सोमबार समितिले सात दिनभित्र आगामी कार्ययोजना पेश गर्न निर्देशन दिएको हो ।त्यसैगरी विभिन्न सहुलियतका बावजुद पनि टेलिकमले प्रभावकारी सेवा दिन नसकेको निष्कर्ष समितिले निकालेको छ ।यसअघि समितिले टेलिकमको सेवा प्रभावकारी बनाउने गरी ३० दिनभित्र समितिमा कार्ययोजना पेश गर्न निर्देशन दिएको थियो ।

सोही निर्देशनमा तीन दिनको समय थप्दै कार्ययोजना पेश गर्न निर्देशन दिएको समितिकी सभापति कल्याणी खड्काले जनाइन् ।

‘टेलिकमले विभिन्न सेवा प्रदान गर्दा प्रयोग हुने तारहरूको उल्लेख्य रुपमा वृद्धि भएको र पूर्वाधारहरूको निर्माण अपेक्षित हुन नसकेका कारण आवश्यक जनशक्ति थप गरी काम कारबाहीलाई तीव्रता दिन निर्देशन दिइएको छ,’ उनले भनिन् ।

त्यस्तै समितिले कुनै पनि संस्था वा व्यक्तिलाई निरुत्साहन वा प्रोत्साहन हुनेभन्दा खुद संस्थालाई हित हुने गरी नियमावलीहरू संसोधन गर्न टेलिकमलाई निर्देशन दिएको छ ।

Back to top