×

बारा १० पुष ।  बाराको जितपुर सिमरा उपमहानगगरपालिकामा प्रदेशकै उत्कृष्ठ माटो फेला परेको छ । माटो तथा मल परिक्षण प्रयोगशाला राजविराजले शुक्रवार जीतपुरसिमरा उपमहानगरपालिको वडा नम्बर १८ बडहर्वामा आयोजना गरेको निःशूल्क माटो परिक्षण शिविरमा वडा नम्बर १७ र १८ का १ सय ४१ जना किसानको खेतबाट संकलित माटोको नमुना परिक्षण गर्दा यस्तो नतिजा आएको हो ।

सप्तरीको राजविराजस्थित प्रयोगशालाका प्रमुख एवं माटो विज्ञ सुनिल कुमार सिंहले प्रदेशकै उत्कृष्ठ माटो फेला परेको बताए । साना किसान कृषि सहकारी संस्था लिमिटेड मनहर्वाको सहजिकरण एवं कृषि ज्ञान केन्द्र बाराको सहभागितामा प्रयोगशालाले सहकारीका कृषि प्राविधिकहरुको समुहले संकलन गरेको माटो परिक्षण गरेको हो ।

माटो विज्ञ सिंहले भने , ‘माटोको नमुना परिक्षण गर्दा ८० प्रतिशत बढी नमुनामा पि.एच.अर्थात अम्लीय पदार्थ सुन्तुलित पाईएको हो ।’ प्रदेश नम्बर २ को माटोको समग्र पि.एच.६०–७० प्रतिशत छ ।

तर यसक्षेत्रमा मात्रै ८० प्रतिशत बढी पाईयो । जुन उत्कृष्ठ हो ।’ नतिजाले यसक्षेत्रका किसानले खेतमा प्राङ्गारिक मलको प्रयोगमा विशेष ध्यान दिने गरेको देखिएको छ । यस्तै रसायनिक मल सन्तुलित रुपमा प्रयोग भएको पाईएको छ । 

माटोमा शुन्य देखी १४ प्रतिशत अम्लीय पदार्थ हुने गर्दछ । माटो विज्ञ सिंहका अनुसार ०–६.४ र ७.६–१४ प्रतिशत अम्लीय माटोलाई हानिकार मानिने गरिन्छ । यस्तो माटोमा जतिसुकै मेहनेत गरेपनि अपेक्षाकृत उत्पादन लिन सकिँदैन । ६.५–७.५ सम्मको माटोलाई तठस्थ अर्थात सन्तुलित माटो मानिन्छ । यस्तो माटोबाट सबै खाले बोटो विरुवाले उत्पादन दिने उनको भनाई छ ।

सन्तुलित माटोमा हालिने मलबाट सहजैसँग बोट विरुवाले चाहिने तत्व लिन सक्छन् । तर अम्लीय माटोमा विरुवाले सहज रुपमा पोषक तत्व ग्रहण गर्न नसक्ने हुँदा उत्पादनमा ह्रास आउने सिंहले बताए । माटोमा अम्लीय पदार्थ परिक्षणबाट थाहा हुने हुँदा समान्यतया बालि लगाउनु पूर्व माटोको परिक्षण गर्नु पर्ने छ । त्यसो गर्न संभव नभएपनि बर्षमा एकपटक अनिवार्य माटोको परिक्षण गराएर आवश्यक उपचार गर्नुपर्ने उनले सुझाव दिए । 

अम्लीय माटोलाई सुधार गर्न कृषि प्राविधिकको सल्लाहमा आवश्य कृषि चुनको प्रयोग गर्न सकिने छ । यसका साथै अत्यावश्यक पदार्थ नाईट्रोजन, फस्फोरस एवं पोटाँसको मात्रा माटोमा भए नभएको पत्ता लगाई आवश्यक मात्र प्रयोग गरेर माटो सुधार गर्न सकिन्छ । 

शिविरमा प्रयोगशालाका प्रमुख एवं विज्ञ सिंह सहितका ४ जना, सहकारी संस्थाका कृषि प्राविधिक जलेन्द्र चौधरी, तालिम प्राप्त संचालक शर्मिष्ठा दाहाल एवं नेपाल राष्ट्रिय माध्यमिक विद्यालयका कृषि विषयमा अध्ययनरत आधा दर्जन छात्रछात्राहरुले माटो परिक्षण गरेका थिए । माटो परिक्षण घुम्ती प्रयोगशालाको सुविधा सहितको बसबाट सेवा दिईएको सहकारी संस्थाकी अध्यक्ष नयनकला खड्काले जानकारी दिइन् । 
 

Back to top