×

वीरगञ्ज, १४ मंसिर ।  पर्साको ग्रामिण क्षेत्रका किसानहरुलाई यति बेला गहुँ छर्ने चटारो छ । धानबाली भित्र्याएका कृषकहरुलाई गहुँ छर्ने कामले भ्याईनभ्याई छ । विगतका वर्षहरुमा घरकै गहुँको बिउ छर्दै आएका किसानहरुलाई यस वर्ष सखुवाप्रसौनी गाउँपालिकाले ५० प्रतिशत अनुदानमा उन्नत जातको गहुँको बिउ वितरण गरेपछि कृषकहरु उत्साहित छन् ।

घरकै बिउ छर्दा उत्पादनमा कमी आउने, रोग लाग्ने सम्भावना बढ्ने हुँदा प्रभावकारी नहुने सखुवाप्रसौनी गाउँपालिका वडा नम्बर ५ का कृषक ध्रुब यादवको भनाई छ । सखुवाप्रसौनी गाउँपालिकाले किसानहरुलाई १ हजार ५ सय २० रुपैयाँमै ४० किलो उन्नत जातको गहुँको बिउ वितरण गरीरहेको वडा नम्बर ५ का वडाअध्यक्ष रुपलाल कुमार यादवले बताए ।

गहुँ खेतीलाई अँझै व्यवस्थित गरेर थोरै मेहनतमा धेरै उत्पादन गर्नेतर्फ कृषकहरुलाई प्रेरित गर्न गाउँपालिकाले पहल गरीरहेको गाउँपालिका अध्यक्ष प्रदिप कुमार जैसवालले बताए । गाउँपालिकाको कृषि शाखाका नायब प्राविधिक सहायक दयाराम वाग्लेका अनुसार प्रति कट्ठा ४ देखि ५ किलो उन्नत जातको बीउ, ३ किलो डि.ए.पी मल र १ किलो पोटास छर्दा उत्पादनमा बृद्धि हुने सम्भावना बढी हुन्छ ।

उन्नत जातको बीउ छरेपछि बालीमा रोग नलाग्ने र छरेको २० देखि २५ दिनभित्र सिचाई गर्ने तथा ८ दिनभित्र रासायनीक मल युरिया प्रति कट्ठा डेढ किलो राख्नुपर्ने वाग्लेको भनाई छ । 
 

Back to top