×

अन्तरिक्षमा मानवले पहिलो पाइला टेकेको छ दशक बितिसकेको छ । त्यो समयदेखि आजसम्म आउँदा मानिसको अन्तरिक्ष यात्रामा धेरै फरक आइसकेको छ ।

यो अवधिमा अन्तरिक्षमा मानिसहरूले धेरै अध्ययन-अनुसन्धान परीक्षण गरिसकेका छन् र अझै पनि थप परिष्कृत प्रविधिसँग अगाडि बढिरहेका छन् ।

हामीले अन्तरिक्षमा जाने यात्रीहरूका बारेमा धेरै सुनेका छौं । केही नयाँ पुस्ता अन्तरिक्षयात्री बन्ने लक्ष्यसहित अगाडि पनि बढेका छन् । तर सायद हामी सबैलाई थाहा नहुन सक्छ, आखिर अन्तरिक्षयात्री के गर्छन् त अन्तरिक्षमा ? कस्तो हुन्छ उनीहरूको दैनिकी ?

यहाँ हामी तपाईंलाई अन्तरिक्षमा अन्तरिक्षयात्रीको सामान्य दैनिकी कस्तो हुन्छ भनेर बताउनेछौं ।

तपाईंलाई लाग्नसक्छ, अन्तरिक्षमा गएका अन्तरिक्षयात्रीको काम र उनीहरूकाे दैनिकी पनि हाम्रो जस्तै हुन्छ । विहानै उठ्ने काम गर्ने, अनि सुत्ने ।

यद्यपि साेचेजस्ताे सहज छैन अन्तरिक्षको दैनिकी । अन्तरिक्षयात्रीहरू वास्तवमा धेरै व्यस्त हुन्छन् ।

उनीहरूले यानमा रहेर धेरै वैज्ञानिक परीक्षण गर्नुपर्ने हुन्छ । यो सँगै उनीहरूले यानको स्थिति, सरसफाई, उपकरणहरूको मर्मत र रेखदेख लगायतका काम पनि गर्नुपर्ने हुन्छ ।

अनुसन्धान परीक्षणको कामसँगै अन्तरिक्षयात्रीले आफ्नो स्वास्थ्यको लागि पनि उत्तिकै ख्याल राख्नुपर्ने हुन्छ । उनीहरू यानभित्रै व्यायाम पनि गर्छन् । अनि कहिलेकाहिँ घुम्नका लागि यानबाट बाहिर पनि जान्छन् । 

अन्तरिक्षमा विहानी 

अन्तर्राष्ट्रिय स्पेस स्टेसनमा दिनको कुरा गर्दा सुरु गरौं विहानको दैनिकीबाट । विहान उठेर के गर्छन् त अन्तरिक्षयात्रीहरू ? पृथ्वीमा जस्तै अन्तरिक्षमा पनि अन्तरिक्षयात्रीको विहानको दैनिकी लगभग उस्तै हुन्छ ।

विहानको नित्य कर्म जस्तै; दाँत माझ्ने, मुख धुने, नुहाउने अनि व्यायाम गर्ने । फरक यत्ति छ कि, पृथ्वीमा व्यायाम नगर्ने छुट पनि हुन्छ । तर अन्तरिक्षमा त्यो छुट छैन ।

हड्डी र मांसपेशीमा हुने समस्यालाई रोक्नका लागि अन्तरिक्ष यात्रीहरूले दिनमा करिब दुई घण्टा व्यायाम गर्नुपर्ने हुन्छ । माइक्रोग्र्याभिटीमा शरीरलाई स्वस्थ राख्न पनि व्यायामको आवश्यकता पर्दछ ।

त्यस्तै प्रत्येक अन्तरिक्षयात्रीको लागि छुट्टै ‘हाइजिन किट’ (सरसफाईको सामग्री) हुन्छ, जसमा नुहाउने साबुन, स्याम्पु, ब्रस, मन्जन, काइयो, रेजर, कैंचीदेखि सबै कुरा हुन्छन् । यसरी विहानको नित्य कर्मपछि पृथ्वीमा जस्तै उनीहरू पनि आफ्नो ब्रेकफास्ट (विहानको नास्ता) लिन्छन् । 

अन्तरिक्षमा काम 

अन्तरिक्ष यात्रीहरूले पृथ्वीको परिक्रमा गरिरहँदा धेरै काम गर्छन् । अन्तरिक्षयात्रीको मुख्य काम भनेको अध्ययन अनुसन्धान नै हो । अन्तरिक्षयात्रीहरूले विभिन्न साइन्स एक्सपेरिमेन्टहरू गर्ने ग्राउन्डबाट भएका गतिविधिहरू निगरानी गर्ने काम गर्छन् ।

यसैबीच उनीहरूले आफ्नो शरीरले माइक्रोग्र्याभिटीमा कतिको एडजस्ट गरिरहेको छ भनेर जाँच्नका लागि पनि समय-समयमा विभिन्न मेडिकल परीक्षणहरू गर्नुपर्ने हुन्छ । 

त्यसैगरी यानको उपकरण, सपोर्ट सिस्टम र क्लिनिङ फिल्टरहरू ठीक अवस्थामा भए/नभएको र केही समस्या आएमा उपकरणहरूको मर्मत गर्ने लगायतका काम पनि हुन्छन् ।

यता पृथ्वीमा रहेको मिसन कन्ट्रोल सेन्टरले पनि हरेक दिन विभिन्न कामका लागि निर्देशन पठाउने गर्छन् र सोही निर्देशनअनुरुप अन्तरिक्षयात्रीहरू काम गर्ने गर्छन् । 

अन्तरिक्षमा खाना 

पृथ्वीमा जस्तै अन्तरिक्षमा पनि दिनको तीनपटक खाना खाने गरिन्छ; विहानको नास्ता, दिउँसोको खाना र बेलुकीको खाना । यद्यपि पृथ्विमा खाने खानाभन्दा अन्तरिक्षमा खाने खाना निकै फरक हुन्छ ।

न्युट्रिसनिस्ट अर्थात पोषणविद्हरूले अन्तरिक्षयात्रीका लागि उनीहरूलाई भिटामिन र खनिजहरूको सन्तुलित आपूर्ति उपलब्ध गराउने विशेष खानाहरू छनौट गरी पठाइन्छ ।

पृथ्वीमा बसेको मानिसलाई भन्दा अन्तरिक्ष यात्रीहरूको लागि क्यालोरी आवश्यकता फरक हुन्छ । जस्तो कि, एक जना महिलालाई अन्तरिक्षमा करिब १,९०० प्रतिदिन क्यालोरीको आवश्यकता हुन्छ भने एउटा पुरुषलाई दैनिक ३,२०० क्यालोरीको आवश्यकता हुन्छ ।

सोही अनुरुप अन्तरिक्षयात्रीका लागि विभिन्न खानेकुरा जस्तै फलफूल, पिनट बटर, कुखुराको मासु, सिफुड, चकलेट, ब्राउनी, कफी, चिया, सुन्तलाको जुस लगायत उपलब्ध गराइएको हुन्छ । 

अन्तरिक्षमा निन्द्रा 

लामो दिनको कामको थकानपछि सबैभन्दा मिठो भनेको रातको निन्द्रा हुन्छ । पृथ्वीमा जस्तै अन्तरिक्षमा पनि अन्तरिक्षयात्रीहरू सुत्ने एउटा समय हुन्छ । यद्यपि अन्तरिक्षमा पृथ्वीमा जस्तो विहान र बेलुका ठ्याक्कै नछुटिने हुँदा अन्तरिक्षयात्रीहरू आफ्नो ‘मिसन डे’ सकिएपछि निदाउने गर्छन् ।

अर्को कुरा माइक्रोग्र्याभिटीका कारण अन्तरिक्षयात्रीहरू कुनै पनि अवस्था वा आसनमा सुत्न सक्छन्, तर उनीहरूले आफूलाई बाँधेर राख्नुपर्छ, ताकि उनीहरू निन्द्रामा कतै उडेर नजाउन् । सुन्दा रोचक र केही हास उठ्दो जस्तो लागेपनि यो सहज भने छैन ।

उनीहरू एउटा क्याबिनमा स्लिपिङ ब्यागमा सुत्ने गर्छन् र कहिलेकाहिँ मोसन सिकनेस (कुनै सवारीमा यात्रा गर्दा टाउको दुख्ने, चक्कर लाग्ने वा उल्टी हुने समस्या) का कारणले उनीहरू सुत्न सक्दैनन् ।

अन्तरिक्षमा पनि आठ घण्टाको निन्द्रालाई अनिवार्य गरिएको छ, तर निद्रा विभिन्न कारणले बिग्रिने समस्या धेरै हुनसक्छ । 

अन्तरिक्षमा छुट्टी

अन्तरिक्षमा धेरै कुरा पृथ्वीमा जस्तै हुन्छभन्दा मनमा लाग्न सक्छ, के अन्तरिक्षमा छुट्टी हुन्छ ? जसरी यहाँ हप्ताको एक दिन छुट्टी हुन्छ । पक्कै पनि अन्तरिक्षमा बस्नु भनेको सधैं काममात्र गर्नु भने होइन ।

अन्तरिक्ष यात्रीहरू पनि छुट्टी लिन्छन्, अनि रमाइलो गर्न मन पराउँछन् । यदि तपाईं केही महिनाका लागि अन्तर्राष्ट्रिय स्पेस स्टेसनमा बस्दै हुनुहुन्छ भने तपाईंको दैनिकी परिक्षण र अनुसन्धान मात्र होइन ।

मानिसलाई मानसिक स्वास्थ र गुणस्तर जीवनका लागि पनि आफ्नै दैनिकीबाट पनि छुट्टी चाहिन्छ, जुन दिन उनीहरू रमाइलो गर्छन् र आफ्नो मस्तिष्कलाई आराम दिन्छन् । अन्तरिक्षमा छुट्टिको रोचक पक्ष भनेको साइट-सिन (बाहिरको पर्यावरण अवलोकन) हो ।

अन्तरिक्षयात्रीले अन्तरिक्षबाट बाहिरको सुन्दर दृश्य हेर्न सक्छन्, प्रत्येक ४५ मिनेटका लागि हुने सुर्योदय र सुर्यास्त अवलोकन गर्न सक्छन् ।

अन्तरक्षियात्रीहरूलाई पनि पालैपालो गरेर हप्तामा एक दिन छुट्टी दिइन्छ । पृथ्वीको परिक्रमा गर्दा अन्तरिक्ष यात्रीहरूलाई आफ्नो व्यस्त तालिकाबाट विश्रामको आवश्यकता हुन्छ ।

कहिलेकाहिँ महिनौंसम्म काममात्र गर्नुपर्दा अन्तरिक्षयात्रीलाई पनि तनाव हुने गर्छ । यसैले पृथ्वीमा रहेका मिसनका योजनाकारले अन्तरिक्ष यात्रीलाई आराम गर्न, व्यायाम गर्न र केही रमाइलो गर्नका लागि प्रत्येक दिन समय निर्धारण गर्छन् । स्टेसन चालक दलका सदस्यले काम गर्दा रमाइलोको लागि पनि समय व्यवस्थापन गरेको हुन्छ ।

अन्तरिक्षमा हुने परीक्षणमा कहिलकाहिँ सामान्य खेलौनाहरू पनि प्रयोग गरिन्छ । योसँगै स्पेस स्टेसनमा, अन्तरिक्षयात्रीहरूको लागि मुभी, संगीत, पुस्तकहरू, तास लगायत अन्य खेलको पनि व्यवस्था गरिएको हुन्छ । साथै उनीहरूले सोही समयमा पृथ्वीमा भएको आफ्नो परिवारसँग पनि सम्पर्क गर्नसक्छन् । - टेकपाना

Back to top