×

वीरगञ्ज २९ भदौ । लामो समयको प्रतिक्षापछि मोबाइल वित्तीय सेवा ‘नमस्ते पे’ आज सार्वजनिक हुँदै छ ।

सरकारी स्वामित्वको नेपाल टेलिकम र राष्ट्रिय वाणिज्य बैंकको मुख्य लगानी रहेको नेपाल पेमेन्ट कम्पनी लिमिटेडले नमस्ते पे मोबाइल भुक्तानी सेवाको प्रारम्भिक चरणको व्यवसायिक सञ्चालन आज देखि गर्न लागेको हो ।

सरकारीस्तरबाट सञ्चालन हुने पहिलो पेमेन्ट गेटवे ‘नमस्ते पे’ को चुक्ता पुँजी ४० करोड रुपैयाँ रहेको छ, जुन नेपालका अन्य भुक्तानी सेवाप्रदायकभन्दा धेरै हो ।

नमस्ते पेबाट अनलाइन र अफलाइन मोबाइल वालेट सेवा लिन सकिने जानकारी दिँदै टेलिकमका प्रबन्ध निर्देशक डिल्लीराम अधिकारीले मोबाइलबाट आर्थिक कारोबारको नयाँ अनुभव हुने बताए ।

सुरुवाती समयमा केही सीमित भुक्तानीका विकल्प उपलब्ध गराएर प्रारम्भिक चरणकाे व्यवसायकि सञ्चालन गर्न लागिएकाे हाे । हालका लागि वालेटमा रकम लोड गर्न सकिने गरी केही बैंकलाई जोडिएको छ ।

त्यसैगरी प्रयोगकर्ताले मोबाइल एप तथा यूएसएसडी कोडमार्फत भुक्तानी गर्न सक्ने बताइएको छ ।

सुरुवाती चरणमा मोबाइल तथा इन्टरनेट सेवाको भुक्तानी, विद्युत तथा पानीको बिल भुक्तानी लगायतका युटिलिटी सेवा उपलब्ध हुनेछन् ।

बाँकी कुन कुन सेवा उपलब्ध हुनेछ भन्ने विषयमा कम्पनीले मंगलबार नै जानकारी दिने जनाएको छ ।  टेकपाना

Back to top