×

कोरोना महामारीका कारण झण्डै ६ महिनादेखि सवारी चालक अनुमतिपत्र (ड्राइभिङ लाइसेन्स) को अनलाइन आवेदन बन्द छ ।

अनलाइन आवेदनका लागि लाखौं सेवाग्राही प्रतिक्षामा रहँदा अर्कोतर्फ फारम भरेका सेवाग्राहीहरू प्रयोगात्मक परीक्षा (ट्रायल) कुरिरहेका छन् ।

केही यातायात कार्यालयहरुले ट्रायल खुलाउन सुरू गरे पनि अनलाइन आवेदन भने अनिश्चित नै छ । यातायात व्यवस्था विभागले फारम भरेका झण्डै छ लाखमध्ये आधा परीक्षार्थी परीक्षामा सहभागी भएपछि मात्रै फारम खुलाउने तयारी गरेको छ ।

‘दशैँसम्ममा दुई/तीन लाख परीक्षार्थी सहभागी भए यसपछि खुलाइने छ,’ विभागका प्रवक्ता लोकनाथ भुसालले भने । उनले विभागसँग स्वीकृति लिएर यातायात व्यवस्था कार्यालयहरुले धमाधम ट्रायल परीक्षा लिन सुरू गरेको जानकारी दिए ।

अर्काेतर्फ परीक्षामा पास भएका झण्डै सात लाखले अझै ‘स्मार्ट’ चालक अनुमतिपत्र पाउन बाँकी छ । उनीहरूले राजस्व बुझाइसकेका छन्, तर लाइसेन्स पाएका छैनन् ।

विभागले समयमै काम गर्न नसक्दा सवारी चालक अनुमतिपत्र (स्मार्ट लाइसेन्स) काे प्रिन्ट रोकिएको छ ।

टेन्डर प्रक्रियादेखि नै ढिलाइ गरेको विभागले प्रिन्ट कार्ड सकिएपछि मसिन बन्द गरेको छ । अति आवश्यक भएका विदेश जानेहरूलाई मात्र लाइसेन्स उपलब्ध गराइएको छ ।

Back to top