×

वीरगञ्ज । काठमाडौंका विभिन्न सञ्चारगृहको कार्यालय अगाडि आवतजावतमा अवरोध पुग्ने गरी पार्किङ गरिएका सवारीसाधनलाई ट्राफिक प्रहरीले क्रेनको सहायताले हटाएर बग्गीखाना ट्राफिक कार्यालयमा लगेको छ।

सोमबार बिहानैदेखि तीनकुनेस्थित कान्तिपुर पब्लिकेसन, बानेश्वरस्थित अनलाइनखबर, मध्य बानेश्वरस्थित हिमालय टेलिभिजन तथा आनामनगरस्थित भाटभटेनी सुपरमार्केट अगाडिसमेत अज्ञात व्यक्तिहरूले सवारीसाधन पार्क गरेर छाडेका थिए। ती सवारीका कारण सम्बन्धित कार्यालयमा कर्मचारी तथा सेवाग्राहीको आवतजावतमा समस्या उत्पन्न भएको थियो।

कान्तिपुर पब्लिकेसनको कार्यालय बाहिर बा प्रदेश ०१–०३४ च ८४८० नम्बरको कार पार्क गरिएको थियो। कार्यालय प्रशासनले बिहानै नेपाल प्रहरीलाई जानकारी गराए पनि केही समयपछि मात्रै ट्राफिक प्रहरीले क्रेन प्रयोग गरेर उक्त सवारी हटाएको हो।

यस्तै, अनलाइनखबरका कर्मचारीका अनुसार बिहान करिब ७ बजेतिर अज्ञात व्यक्तिले बुद्धनगरस्थित कार्यालयको मुख्य गेटमै कार पार्क गरेर हिँडेका थिए। त्यसका कारण अन्य सवारी कार्यालय परिसरभित्र प्रवेश गर्न नसकेको जनाइएको छ। कार चालकको पहिचान अझै खुलेको छैन।

काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख एसएसपी सुरेश काफ्लेका अनुसार घटनाबारे विस्तृत अनुसन्धान भइरहेको छ। उनले अवैध रूपमा पार्किङ गरिएका सवारीका धनीहरूको खोजी भइरहेको र सबै सवारी ट्राफिक प्रहरी कार्यालयमा ल्याएर अनुसन्धान अघि बढाइएको जानकारी दिए।

उनका अनुसार प्रारम्भिक सम्पर्कमा आएका अधिकांश सवारीधनीले आफू काठमाडौं बाहिर रहेको र सवारी चालकले गाडी लगेको बताएका छन्। दुई जना सवारीधनीले भने आफूहरू नगरकोटमा रहेको जानकारी प्रहरीलाई दिएका छन्।

प्रहरीले घटनामा योजनाबद्ध रूपमा सवारी पार्किङ गरिएको हो वा अन्य कुनै उद्देश्य थियो भन्ने विषयमा अनुसन्धान केन्द्रित गरेको जनाएको छ।

यस घटनालाई हालै काठमाडौं महानगरपालिका प्रहरीले गणेश नेपालीको मोटरसाइकलमा ह्वील लक लगाएपछि उत्पन्न विवाद र त्यसपछि भएको आत्मदाह घटनापछि सञ्चारमाध्यममा प्रकाशित आलोचनात्मक समाचारसँग जोडेर सामाजिक सञ्जालमा विभिन्न टिप्पणी भइरहेका छन्।

यसअघि पनि प्रेम आचार्यले संसद् भवन अगाडि आत्मदाह गरेपछि तत्कालीन काठमाडौं महानगर प्रमुख बालेन्द्र शाहले राज्यको भूमिकामाथि प्रश्न उठाउँदै सरकारको आलोचना गरेका थिए। पछिल्लो घटनापछि पनि सामाजिक सञ्जालमा सरकारको भूमिकालाई लिएर व्यापक बहस भइरहेको छ।

Back to top