×

वीरगञ्ज, ४ जेठ । नेपालमा फाइभजीको सुरुवात नभएकाले कोभिड-१९ कम फैलिएको, तर भारतमा फाइभजीको रेडिएसन (विकिरण) ले गर्दा फैलिएको अनि भारतमा फाइभजी सुरु गरेको ठाउँमा मृत्युदर बढेको दाबी गर्दै  तस्वीरसहितको सामग्री फेसबुकमा फैलाइएको छ ।

पोखरास्थित फोटोग्राफर तथा डिजे ओम लामाले फेसबुकमा गत वैशाख २६ गते उक्त सामग्री शेयर गरेका थिए । उनको पोस्ट ४ हजार ५ सययभन्दा बढी शेयर गरिएको छ । 

उक्त पोस्टमा भनिएको छ-
‘नेपालमा अहिले फाइभजी सुरु नभएको हुँदा कोभिडको केस कम छ । र, जे जति छ, त्यो सब इण्डियामा फाइभजीको रेडिएसनले गर्दा हो । इण्डियामा जहाँ-जहाँ फाइभजी सुरु गरिएको छ, त्यहाँ मृत्युदर बढिरहेको छ । जस्तै बम्बई, मध्य प्रदेश, उत्तर प्रदेश, दिल्ली र कर्नाटकमा फाइभजी टेस्टिङ फेज चलिरहेको छ । र, त्यसको वरिपरी विभिन्न प्रकारका लक्षणहरु देखा पर्न थालेका छन् जस्तै आँखा पोल्नु, आँखा रातो हुनु, घाँटी सुख्खा हुनु, तिर्खा धेरै लाग्नु, सास फेर्न अप्ठ्यारो हुनु आदि इत्यादि ।’

सोही सामग्री फेसबुकमा यहाँयहाँ र यहाँ पनि शेयर गरिएको छ । त्यसमा समावेश गरिएका तस्वीरहरुमध्ये सन् २०२० को जनवरीमा लण्डनमा भएका फाइभजी विरोधी प्रदर्शन र नेदरल्याण्डको राजधानी आम्सटर्डमका प्रदर्शनका छन् ।

यसअघि यस्तै दाबी बेलायत लगायतका युरोपेली मुलुक हुँदै भारतमा पनि फैलिएको थियो । त्यसबारे भारतको अल्ट न्युज र फ्याक्टलीले तथ्य जाँच गरेका छन् ।

फाइभजीले कोरोना भाइरस फैलाउँछ भन्ने गलत दाबीको साउथ एसिया चेकले तथ्य जाँच गरेको छ ।

के हो फाइभजी ?

फाइभजी मोबाइल प्रयोगका लागि अहिलेसम्मकै सबैभन्दा उन्नत प्रविधि हो । यो पाँचौ पुस्ता (फिफ्थ जेनेरेसन) को प्रविधिले इन्टरनेटमार्फत हुने गतिविधिमा आमुल परिवर्तन ल्याउने विज्ञहरु बताउँछन् ।

नेपालमा हाल फोरजी सेवा उपलब्ध छ भने फाइभजीको पनि परीक्षण गर्ने तयारी गरिएको नेपाल टेलिकमका बरिष्ठ इन्जिनियर मधुसुदन दाहालले बताए ।

नेपालमा हाल फाेर जी चालु छ । दाहालका अनुसार फाइभजी भनेकाे फाेर जीभन्दा विकसित प्रविधि हाे । उनका अनुसार फाइभजीका लागि फाेर जीकै सफ्टवेर अपडेट गरी केही एन्टेना लगायतका हार्डवेयर थपिन्छ ।

मोबाइलले विद्युत चुम्बकीय तरंग फैलाउने गरेता पनि त्यसले हानी नगर्ने विभिन्न अध्ययनहरुबाट प्रमाणित भएको उनले बताए ।

‘सायद मोबाइलको तरंग पनि नदेखिने र कोरोना भाइरस पनि नदेखिने भएकाले मानिसहरुमा भ्रम फैलिएको होला,’  उनले भने, ‘मोबाइलले ५ देखि १० मिलिवाटको उर्जा प्रसार गर्छ (फाइभजीमा याे कम वा बढी हुनसक्छ) । यो हानिकारक हुँदै होइन ।’

उनले मोबाइलको फ्रिक्वेन्सीले कसरी काम गर्छ भन्ने कुरा यसरी बुझाए, ‘मैले बोलेको कुरा तरंगकाे माध्यमबाट मेराे नजिकैको टावरमा पुग्छ । त्यसपछि त्याे तपाईकाे दुरसञ्चार सेवा प्रदायककाे सर्भरमा पुग्छ र त्यसले तपाईले फाेन गरेकाे व्यक्तिकाे नजिकैकाे टावरमा पठाइदिन्छ । जुन टावरले सबैभन्दा राम्रो सिग्नल दिन्छ, त्यसबाट मेरो आवाज प्रेषित हुन्छ,’ उनले भने ।

फाइभजीका लागि अहिलेका जस्ता ठूला, तर टाढा ठडिएका थोरै टावरको साटो साना तर नजिकै रहने धेरै टावर राखिनुपर्ने विज्ञहरु बताउँछन् ।

भारतमा रिलायन्स जियो, भारती एयरटेलजस्ता टेलिकम कम्पनीले फाइभजीको परीक्षण गरे पनि आम उपभोक्तामा सेवाको सुरुवात भएको छैन । भारतमा कोभिड-१९ को दोस्रो लहरबाट ती फेसबुक पोस्टमा उल्लेखित राज्यहरु बढी प्रभावित भएको सही भएपनि ती राज्यमा फाइभजीको परीक्षण चलिरहेको दाबी गलत हो ।

ओम लामाकाे फेसबुक पाेस्टकाे स्क्रिनसट

फाइभजीबाट कोरोना भाइरस फैलिँदैन भन्दै विश्व स्वास्थ्य संगठनले गत वर्ष नै एक सामग्री प्रकाशित गरेको छ । उक्त सामग्रीमा भनिएको छ, ‘फाइभजी वा मोबाइलको सञ्जालबाट कोरोना भाइरस सर्दैन । फाइभजी नभएका कैय देशमा कोभिड-१९ फैलिएको छ ।’

गत वर्ष बेलायतमा फाइभजीको शुरुवात गर्नुअघि उक्त प्रविधि बनाउने चिनिया मोबाइल कम्पनी ह्वावेले मोबाइल प्रयोगकर्ताको अभिलेख राख्ने अफवाह फैलिएकाले यसलाई कोरोना भाइरससँग जोडेर भ्रम फैलाइएको हुनसक्ने टेलिकम इन्जिनियर दाहालले बताए । ‘मानिसहरुमा यसबाट सरकारले नागरिकमाथि निगरानी राख्छ कि भन्ने पर्‍याे,’ उनले भने । 

साउथ एसिया चेकबाट ।

Back to top