×

वीरगञ्ज, ४ जेठ । पर्साको सखुवाप्रसौनी गाउँपालिका वडा नम्बर ४ देउरबानामा मलखाद बिक्रिवितरणको विषयलाई लिएर झडप भएको छ ।

देउरबानामा रहेको श्री फिजा कृषी सहकारी संस्थाले मलखाद बिक्रिवितरणमा कृषकलाई ठगी गरेको स्थानीय बेराहीम देवानको आरोप छ । देवानले खरिद गरेको मलखाद तथा धानको बीउ वापतको बिल माग्दा संस्थाले नदिएपछि झडप भएको देवानले बताए ।

उक्त संस्थाले डिएपी रु. २ हजार ३ सय ५० प्रतिबोरा, युरिया रु. ९ सय प्रति बोरा र धानको बिउ प्रतिबोरा रु. २८ सय मा विक्रिवितरण गरीरहेको छ । गाउँपालिकामा आफ्नै घरपरिवार मिलेर सहकारी संस्था खोली मनोमानी मूल्यमा मलखाद विक्रिवितरण गरीरहँदा पनि स्थानीय तहले अनुगमन तथा कारवाही नगरेको स्थानीय जुमदीन देवानको भनाई छ । उनका अनुसार गाउँपालिकाका जनप्रतिनिधि र सहकारी संस्थाका सञ्चालकहरुको मिलेमतोमै किसानहरुलाई ठग्ने र मनोमानी मूल्यमा विक्रिवितरण गर्ने गरेका छन् ।

 यता श्री फिजा कृषि सहकारी संस्था लिमिटेडका सञ्चालक जुल्फका अन्सारले आफ्नो संस्थाबाट मलखाद र धानको बीउ खरिद नगरेको हुँदा बिल नदिएको प्रतिक्रिया दिए । सखुवाप्रसौनी गाउँपालिकाका कृषि शाखा प्रमुख दयाराम पौडेलले घटनाको विषयमा जानकारी पाएलगत्तै अनुगमन र छानविनको कार्यलाई अघि बढाएको बताए । 

महामारीको मौका छोपी सहकारी संस्था लगायतले कालोबजारी गर्ने र उपभोक्ता ठग्ने प्रवृति बढ्दा पनि समस्या बुझ्ने कोही नभएको स्थानीय जुमदीन देवानको दुखेसो छ । 

Back to top