×

वीरगञ्ज ४ जेठ । हाल देशमा पश्चिमी न्यून चापीय प्रणाली तथा पूर्वीमध्य अरब सागरमा रहेको अति शक्तिशाली चक्रवात ‘ताउ–ते’ को प्रभाव देखिएको छ ।

हाल पूर्वी­मध्य अरब सागरमा रहेको शक्तिशाली चक्रवात ‘ताउ–ते’ उत्तर–उत्तर­पश्चिम हुँदै गुजराततिर बढ्ने क्रममा रहेको छ । यस चक्रवातको प्रत्यक्ष प्रभाव नेपालमा नपरे तापनि केही असर नेपालको भू–भागमा पनि पर्ने जल तथा मौसम विज्ञान विभागअन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले बताएको छ ।     

सो प्रणालीका कारण बुधवार देशभर मौसम सामान्यदेखि पूर्ण बदली रहने छ । कर्णाली र सुदूर पश्चिम प्रदेशका थोरै स्थानमा मेघगर्जन/ चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ भने उच्च हिमाली भू–भागका केही स्थानहरूमा हल्कादेखि मध्यम हिमपात/ वर्षाको सम्भावना छ ।     

त्यस्तै बुधवार पनि कर्णाली, सुदूरपश्चिम, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका पहाडी भू–भागका केही स्थानहरुमा मेघगर्जन/ चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । उच्च हिमाली भू–भागका केही स्थानहरूमा हल्कादेखि मध्यम हिमपात/ वर्षाको सम्भावना रहेको महाशाखाले बताएको छ ।     

बिहीवार कर्णाली, सुदूरपश्चिम, गण्डकी र लुम्बिनी प्रदेशका धेरै स्थानमा हल्कादेखि मध्यम वर्षा र थोरै स्थानहरूमा भारी वर्षा तथा कर्णाली र सुदूरपश्चिम प्रदेशको केही स्थानमा अति भारी वर्षाको समेत सम्भावना रहेको छ । उच्च हिमाली भू–भागका धेरै स्थानहरुमा हल्कादेखि मध्यम हिमपात÷वर्षा र कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा भारी हिमपातको समेत सम्भावना रहेको महाशाखाको अनुमान छ । रासस     

Back to top