×

मधेस आन्दोलनको बलमा स्थापित जनता समाजवादी पार्टी (जसपा) यतिबेला प्रधानमन्त्री केपी शर्मा ओलीको पक्ष र विपक्षमा विभाजित छ। महन्थ–राजेन्द्र समूह ओलीको पक्षमा लागेकै कारण विश्वासको मत प्राप्त गर्न नसके पनि विपक्षी गठबन्धनको सरकार बन्न सकेन। गएको वर्ष उनैले ल्याएको दल विभाजनसम्बन्धी अध्यादेशकै कारण तत्कालीन राजपा र समाजवादी पार्टी एकताका लागि वाध्य भए–बनाइए। अहिले फेरि ओलीकै कारण जसपा विभाजनको संघारमा पुगेको छ। जसपा विवादमा मधेश एजेन्डा कहाँ पुग्यो ?एकता कायमै रहन्छ वा जसपा विभाजित हुन्छ?– यिनै प्रश्नको सेरोफेरामा राजनीतिक विश्लेषक सीके लालसँग गरिएको कुराकानीः

पछिल्लो समय प्रधानमन्त्री केपी शर्मा ओलीको पक्ष र विपक्षमा बाडिँदा जनता समाजवादी पार्टी (जसपा) ले उठाउँदै आइरहेको मधेसको एजेन्डा अहिले कता पुगेको छ?
आन्दोलन त स्थगित भइसकेको छ। पहिलो स्थगन त जतिबेला उनीहरू चुनावमा भाग लिएका थिए त्यतिबेलै भइसकेको थियो। चुनावमा भाग लिएकै बेला पहिलो अल्पबिराम लागिसकेको थियो। आलोचनात्मकै सही, उनीहरूले संविधान स्वीकार्य गरिसकेका थिए। स्वीकार गरेकै कारण चुनावमा भाग लिएका थिए। संविधानअनुसार सपथग्रहण गरे। पहिलो अल्पबिराम त्यहीँ लागेको थियो।

दोस्रो अल्पबिराम उपेन्द्र यादवजी सरकारमा सहभागी भएको बेला लागेको थियो। र, अहिले त पूर्णबिराम नै लागिसकेको छ।

अब नयाँ शीराबाट केही सुरू भए मात्र केही हुनसक्छ। यो च्याप्टर महन्थ ठाकुरजीले लगभग बन्द गरिदिनु भएको छ।

प्रथम मधेस विद्रोहको झन्डा बोकेका उपेन्द्र यादव सरकारमा सामेल भएर ध्वस्त पार्नुभयो। दोस्रो मधेस विद्रोहको नेतृत्व लिनुभएका महन्थ ठाकुर चुनावमा भाग लिएर ध्वस्त पार्नुभयो। तेस्रो मधेस आन्दोलनको विद्रोह लिनुभएका राजेन्द्र महतो पनि समाप्त हुनुभएको छ। तीनवटै मधेस विद्रोहमा ‘कमा’ हुँदाहुँदै अब ‘फुलस्टप’ लागिसकेको छ।

मधेश विद्रोहमा ‘फुलस्टप’ लागिसक्यो भनिरहनु भएको छ। पछिल्लो समय प्रधानमन्त्री केपी ओलीतिर उहाँहरूको बढी झुकावले गर्दा हो वा अन्य कुनै कारण छ?
केपी ओलीसँग झुकाव त के हुन्छ र ? उहाँहरूले हेर्नुभयो–अरू कुनै बाटो नै छैन। आत्मसमर्पण गरिसक्नु भएको छ। जसरी पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आत्मसमर्पण गर्नुभएको थियो, त्यसैगरी उहाँहरूले पनि आत्मसमर्पण गर्नुभएको छ। यही देशमा बस्नु छ, यहीँ बाँच्नु पर्नेछ। एउटा भनाइ छ ‘पानीमा रहेर मगरमच्छसँग बैर गर्नुहुँदैन’ भनेर। उहाँहरू यही सिद्धान्ततर्फ लाग्नुभयो।

मधेस एजेन्डालाई उहाँहरूले बिराम दिनुभएको जस्तो तपाईंलाई लागेको हो?
हो। आत्मसर्पण गरेर उहाँहरूले मधेस आन्दोलनको एजेन्डालाई बिर्सनु भएको जस्तो मलाई लागेको छ। अब सामान्य प्रकृतिका मुद्दा लागेकाहरूलाई रिहा गरिदिनु भनेको प्रशासनिक लेनदेनमात्र हो। आन्दोलनको एजेन्डासँग कुनै लेनदेन छैन।

वैशाख २७ गते प्रधानमन्त्रीले विश्वासको मतलिँदा जसपाको एक समूह (महन्थ–राजेन्द्र) तटस्थ बस्यो। यो तटस्थता अझै कायमै रहन्छ कि उहाँहरू सरकारमा जानुहुन्छ। तपाईंको विश्लेषण के छ?
उहाँहरू सरकारमा जाँदा फाइदाभन्दा नोक्सान हुने सम्भावना मैले बढी देखेको छु। किनभने अहिले सबैलाई चुनाव गराउनु पर्नेछ। क्षति हुने सम्भावना बढी छ। किनभने अहिलेको सरकार त बदनाम भइसकेको छ। फेरि अर्को कुरा कार्यकर्ताहरूलाई त अवसर चाहिन्छ। अवसर त सरकारमा नजाँदासम्म पाइन्न।

उहाँहरू सरकारमा जाने नजाने माधव नेपालमाथि निर्भर देखिन्छ। ओलीजीले माधव नेपाललाई कति हदसम्म दबाउनसक्नु हुन्छ त्यसमा निर्भर हुन्छ। यदि माधवजीहरू पूरै लम्पसार पर्नुभयो भने जसपालाई सरकारमा लग्ने खासै जरूरी नै हुँदैन। यदि उहाँले निहुँ खोज्नुभयो भने ओलीजीले जसपालाई सरकारमा लग्नसक्नु हुन्छ। उहाँहरू सरकारमा जान तम्तयार नै हुनुहुन्छ।

तटस्थ बस्नुको एउटै कारण थियो पार्टीको एकता जोगाउनु। तर, एकता जोगिने सम्भावना कम भएसँगै उहाँहरू सरकारमा जानुसक्नु हुन्छ।

अहिले भावी सरकारको स्वरूप माधव नेपालजीको क्रियामा निर्भर देखिन्छ।

तटस्थ बसेर प्रधानमन्त्री केपी ओलीलाई सहयोग गर्नुका साथै पछिल्लो समय बालुवाटार र लैनचौर दौडाहाले जसपा अध्यक्ष महन्थ ठाकुरको छविमा कस्तो असर परेको देख्नु हुन्छ?
उहाँको छवि धुमीलमात्रै होइन ध्वस्त नै भइसकेको छ। एक हिसाबले उहाँको छवि ध्वस्त भएको छ। मान्छे बुढो भइसकेपछि महत्वाकांक्षा नैतिकताभन्दा माथि उठिहाल्छ। गिरिजाबाबुमा राष्ट्रपति बन्ने लोभ आइसकेको थियो। महन्थजीलाई पनि भारतले कुनै लोभ दिएको हुनसक्छ। तपाईंलाई सर्वसम्मतिको प्रधानमन्त्री बनाइदिन्छु, राष्ट्रपति बनाइदिन्छु भनेर। भारतले चाहेकै कुरा यहीँ भइरहेको महन्थजीले पनि हेरिरहनु भएको छ। ओलीसँग मिल्ने र भारतसँग पनि मिले यो उमेरमा केही न केही पाउन सकिएला जस्तो लागेको हुनसक्छ। लोभ त पक्कै पनि केही देखिन आएको छ।

पैसाको लोभ त उहाँमा हुनै सक्दैन। नामको पनि लोभ हुन सक्दैन किनभने बदनाम भइरहनु भएको छ। लोभ त पदकै होला। तीनबाहेक चारवटा लोभ मानिसमा हुँदैन। कि त नामको कि पदको कि पैसाको लोभ मानिसमा हुन्छ।

जसपाका अध्यक्षद्वय महन्थ ठाकुर र उपेन्द्र यादवबीच पछिल्लो समय टकराव बढेको छ। कतिपयले उहाँहरू दक्षिणी र उत्तरी ध्रुव पुगिसकेको विश्लेषण गरिरहेका छन्। तपाईंलाई के लागेको छ?
नर्थ पोल र साउथ पोलमै उहाँहरू पुगिसकेको भन्न ठीक हुँदैन। तर, थोरै ‘डाइभर्जेन्ट’ को स्थिति पक्कै पनि छ। एक अर्काबाट छुट्टिन खोजे जस्तो देखिएको छ। किनभने उपेन्द्रजीले पनि दिल्लीतर्फ आशाको नजरले हेर्न छोडिसक्नु भएको छैन नि।

त्यसो भए जसपाको एकता कायमै रहन्छ कि छुट्टिने सम्भावना हेर्नुभएको छ?
एकता जोगाइ राख्न भारतले कोसिस गर्छ। जसपाको एकता बनाइराख्न भारतको प्रयास रहन्छ। तर, धेरै कुरा एमालेको एकतामाथि निर्भर हुन्छ। एमाले एक रह्यो भने जसपा पनि एक रहिरहन्छ। एमाले विभाजित भयो भने जसपा पनि एक रहन सक्दैन।

एक वर्षअघि प्रधानमन्त्री केपी शर्मा ओलीले दल विभाजनसम्बन्धी अध्यादेश ल्याउँदा तत्कालीन राजपा र समाजवादी पार्टी मिलेर जसपा बनेको थियो। अहिले फेरि ओलीकै कारण फुटको संघारमा पुगेको छ। कस्तो राजनीतिक संकेत दिएको छ यो घटनाले?
नेपालको राजनीतिमा अहिले पनि खस आर्य हावी छ भन्ने प्रष्ट संकेत दिएको छ। उसलाई कसैले पनि चुनौती दिन सक्दैन, सजिलै बुझ्नसकिन्छ। त्यसलाई ‘च्यालेन्ज’ गर्ने क्षमता कांग्रेसमा थियो। तर, शेरबहादुर देउवाजी ‘च्यालेन्ज’ गर्न चाहनुभएको छैन। त्यसैले ओलीजी एकलौटी हुनुहुन्छ। उहाँलाई जे मन लागेको छ गरिरहनु भएको छ।

भारतको झुकाव प्रधानमन्त्री ओलीतिर बढेकै हो?
भारतलाई पनि लागेको छ– उहाँबाटै काम गराउनुपर्ने छ, किन बढी यताउति गर्ने? अकबर–बीरबलको एउटा कथा छ– अकबरले भनेका थिए। मेरो दाह्री तान्नेलाई के सजाय दिने? सबैले भने–उसको शीर काटिदिनुपर्छ।

बिरबलले भने– होइन उसको हातमा लड्डु राखेर प्रेमले चुम्बन गरौं। किनभने दाह्री तान्ने काम त नजिककै मानिसले नै गर्नसक्छ। अरूले त हिम्मत गर्न सक्दैन। अकबरको नातीले उनको दाह्री तानेको थियो। ‘इन्डियन इस्टाबलिस्मेन्ट’ मा ओलीले घुर्की देखाउनुको कारण पनि त्यही नजदिकी (नजिकपन) नै हो।

आयोमेल डटकमबाट साभार ।

Back to top