×

अहिलेको अवस्था र मौसम दुवै प्रतिकुल छ । एकातर्फ वैश्विक महामारीको रुपमा फैलिरहेको कोरोनाभाइरसको नयाँ भेरियेन्टले एक पटक पुन: हामी सबैलाई आक्रान्त पारीरहेको छ । अर्काेतर्फ बढ्दै गरेको गर्मीका कारण सामान्य टाउको दुखाई, ज्वरो तथा खोकीलाई मानिसले मौसमी रोग सम्झीरहेका छन् । 

विश्व स्वास्थ्य संगठनले नै अनिवार्य रुपमा मास्कको प्रयोग गर्न, पटक-पटक साबुन पानीले हात धुनुका साथै स्यानीटाइजर लगाउन, सामाजिक दुरी कायम गर्न तथा भिडभाडजन्य क्रियाकलाप नगर्न जस्ता स्वास्थ्य सुरक्षा मापदण्ड पालना गर्न आग्रह गर्दै आएको छ । तर अवस्था विकराल हुँदै गएपनि नागरिकले लापरवाही गर्न भने छोडेको छैनन् । 

नेपालमा नयाँ भेरियेन्टको कोरोना देखिएसँगै स्थानीय प्रशासनले मास्क नलगाएर हिँड्नेलाई जरिवाना तिराउने अभियान थालेपनी प्रहरीको नजिकै पुग्दा लगाउने र टाढा गइसकेपछि गोजीमा राख्ने, नाक, मुख नछोपेर चिउडोमा लगाउने गरेको पाइएको छ । मास्क लगाउनु भनेको आफ्नो लागि हो भन्ने किसिमको बुझाईको अभाव भन्ने या बुझीबुझी बुझ पचाएको भन्ने बुझ्न सकिएको छैन । 

बैशाख महिनामा विहेको लगन पनि धेरै भएर होला मानिसहरु कोरोनाको प्रवाह नगरी वैवाहिक कार्यक्रमहरुमा सरिक भइराखेका छन् । ज्वरो, खोकी लागेपछि जन्ती गएको बेला आइसक्रिम खाएर, घाममा हिँडेर यस्तो भएको बताउने गरेका छन् । अहिले कोरोना भाइरस समुदायस्तरमै फैलिएको हुँदा अहिले लाग्ने ज्वरो, खोकी कोभिडकै ज्वरो हो । आफूलाई लाग्ने ज्वरो कसरी लागेको हो भनेर आफैले मूल्यांकन गरी समय काटेर बसीरहेको अवस्था छ । यो त मौसमी ज्वरो हो भनेर ढुक्क हुने, समयमै परिक्षण नगराउने अनि अन्त्यमा श्वास फेर्न गाह्रो भएको बेलामा अस्पताल गुहार्ने प्रवृति हाबी हुँदा पनि उपचारमा समस्या भएको छ । 

कोरोना भाइरस यस्तो गम्भिर प्रकृतिको रोग हो, जुन सङ्क्रमण भएपछि र उपचारमा ढिलाई भएपछि बच्न मुश्किल पर्छ । समयमा उपचार भए मात्रै बच्ने सम्भावना बढी हुन्छ । तथ्यांकलाई आधार मान्ने हो भने पनि कोभिड सङ्क्रमित भएको २/४ दिनपछि मात्रै मृत्यु भएको पाइएको छ । शुरुमा गम्भिरतापूर्वक नलिएर अन्तिममा उपचार गर्न आएको पनि यसले पुष्ठि हुन्छ । फलस्वरुप अनावश्यक स्वास्थ्य जोखिमहरुबाट सुरक्षित हुनका निम्ती सामान्य ज्वरो आउँदा पनि अन्य कारणले भएको भन्ने नसोचेर पिसिआर तथा एन्टीजोन परीक्षण गराउन आवश्यक छ । 

वीरगञ्जस्थित नारायणी अस्पतालमा कोरोना सङ्क्रमितहरुको सङ्ख्या बढ्दा अवस्था भयावह भएको प्रमाणित हुन्छ । गम्भिर किसिमका सङ्क्रमितहरुलाई मात्रै भर्ना गर्दा पनि अस्पतालमा एउटै बेडमा ३–३ जनालाई राखेर उपचार गराउनुपर्ने बाध्यता छ । सबै सङ्क्रमितलाई अक्सिजन लगाउनुपर्ने अवस्था छ । कोरोनाले पर्सामा मात्रै दैनिक २ देखि ३ जनाले ज्यान गुमाउन थालेका छन् । अस्पतालमा भर्ना भएका सङ्क्रमितहरुको अवस्था गम्भीर छ, कसको कैले ज्यान जाने हो भन्न सक्ने अवस्थामा हामी छैनौँ ।

यस्तो विषम अवस्था आउँदा पनि सचेत नभए कहिले हुने ? तसर्थ कोभिड-१९ विरुद्धको लडाईमा विजयी हासिल गर्न अब सबै नागरिकले आ–आफ्नो स्थानबाट लाग्नुपर्ने देखिएको छ । आफु पनि बचौं र अरुलाई पनि बचाऔँ भन्ने भनाईलाई आत्मसाथ गर्दै स्वास्थ्य सुरक्षाका मापदण्डको पालना गरौ र गराऔँ । रोगप्रतिरोधात्मक क्षमतालाई बलियो बनाउन पौष्टिक आहारमा ध्यान दिनुका साथै नियमित शारिरीक व्यायाम गरौँ । यति गर्न सकिए कोरोनाभाइरसलाई पराजय गर्नबाट कसैले रोक्न सक्तैन ।

(नारायणी अस्पतालका वरिष्ठ चिकित्सक डा. निरज सिंहसँग यात्रा डेलीका सुर्यनारायण वि.क. ले गरेको कुराकानीमा आधारित ।)

Back to top