×

वीरगञ्ज, २० चैत । पर्साको जगरनाथपुर गाउँपालिकामा एक युवकको शङ्कास्पद अवस्थामा शव बरामद भएको छ ।

जगरनाथपुर गाउँपालिका वडा नम्बर ५ स्थित सिक्टा पुल नजिकै गएराती सडकमा एकजना युवकको शङ्कास्पद अवस्थामा शव बरामद भएको प्रहरीले जनाएको छ । 

मृतक युवक सोही गाउँपालिका वडा नम्बर २ लक्ष्मीपुर निवासी रामविश्वास चौहानका छोरा १९ वर्षीय नितेश कुमार चौहान हुन् ।

स्थानीयहरुले बिहिबार राती खबर गरेपछि प्रहरी त्यहाँ पुगेको थियो । उनको शवलाई पोष्टमार्टमका लागि वीरगञ्जस्थित नारायणी अस्पतालमा पठाईएको ईलाका प्रहरी कार्यालय पोखरियाले जनाएको छ । 

युवकको मृत्युको कारण  अहिलेसम्म खुल्न नसकेपनि कुनै गाडीले उनलाई ठक्कर दिएर फरार भएको हुनसक्ने प्रहरीको आशङ्का छ । प्रहरीले चौहानको शव नजिकैबाट एउटा साइकलपनि बरामद गरेको पर्सा प्रहरीका प्रवक्ता एवम् प्रहरी नायव उपरीक्षक (डिएसपी) प्रह्लाद कार्कीले बताए । उनले अनुसन्धानपछि किने निषकर्षमा पुग्न सकिने बताए ।

'शवको अवस्था हेर्दा हिट एण्ड रनको केस जस्तो लागे पनि हामी अनुसन्धान गरिरहेका छौँ,' डिएसपी कार्कीले भने, 'इन्सपेटरसहितको टोले अनुसन्धान गरिरहेको छ । पोष्टमार्टमको रिपोर्ट पनि कुर्दै छौँ । अहिलेनै निष्कर्षमा पुगिहाल्ने अवस्था छैन ।'

Back to top