×

वीरगञ्ज । क्यान महासंघले वर्षेनि आयोजना गर्दै आएको सूचना प्रविधि प्रदर्शनी मेला क्यान इन्फोटेक यसपटक आउँदो वैशाख २८ देखि हुने भएको छ । आइतबार राजधानीमा पत्रकार सम्मेलन गर्दै महासंघले २७ औं संस्करणकाे क्यान इन्फाेटेकका लागि स्पाेन्सर बुकिङ खुला भएकाे जानकारी दिएकाे छ ।

विगतका वर्षहरुमा साधारणतया पुस-माघ-फाल्गुण महिनामा आयोजना हुने क्यान इन्फोटेक यसपटक कोभिड-१९ का कारण ३ महिना ढिला गरी आयोजना हुन लागेकाे हाे ।

क्यान इन्फोटेकको शीर्ष प्रायोजन प्रभु पेले गरेको छ भने सह शीर्ष प्रायोजकमा वर्ल्डलिंक रहेकाे छ । साथै प्राज्ञिक साझेदारको रुपमा सनवे कलेज र डिजिटल डिस्प्ले साझेदारमा अल्ट्रा एलईडी रहेका छ ।

प्लाटिनम, डायमण्ड, गोल्ड र सिल्भरका साथै प्रिन्ट र अफिसियल प्रायोजनका लागि खुला गरिएको छ । प्रायोजकहरुले स्तरअनुसारको स्टल तथा भिआईपी तथा सामान्य पासहरु, उद्घाटन र समापन समारोहमा निम्ता, सञ्चारमाध्यका विज्ञापनमा लोगो तथा गेट तथा अन्य प्रवर्द्धनका सामग्रीमा लोगो प्रदर्शनीलगायतका सुविधाहरु पाउने छन् ।

सूचना प्रविधि प्रर्दशनीमा क्यान महासंघका सदस्य संस्थाहरुका साथै विभिन्न राष्ट्रिय र अन्तर्राष्ट्रिय सूचना तथा सञ्चार प्रविधिसम्बन्धी कम्पनीहरुको सहभागिता रहनेछ ।

प्रर्दशनीलाई व्यवसायीहरूले व्यापार विस्तारका साथै नयाँ–नयाँ प्रविधिको प्रदर्शनी गर्ने थलोका रूपमा उपयोग गर्न सक्नेछन् भने अवलोकनकर्ताले एकै थलोमा सूचना तथा सञ्चार प्रविधिका नौला र भविष्यका निम्ति प्रविधिहरु र उपकरणको अवलोकन तथा खरिद गर्न पाउनेछन् ।

यो प्रर्दशनी सुचना प्रबिधिसम्बन्धी चासो राख्नेहरुको लागि यस क्षेत्रमा भएका विकास तथा प्रयोगका बारेमा जानकारि लिने थलो पनि हुने विश्वास पनि हामीले लिएका छौं ।

क्यान इन्फोटेक २०२१ ले सूचना तथा सञ्चार प्रविधि क्षेत्रका कम्पनीहरुलाई आफ्नो बजार विस्तार गर्ने, ग्राहकका आवश्यकता थाहा पाउने, बजार सर्वेक्षण गर्ने, नयाँ उत्पादनहरु सार्वजनिक गर्ने र ग्राहकसँग आपसी सम्बन्ध स्थापना गर्ने अभूतपूर्व अवसर दिने आयाेजकले बताएकाे छ ।

क्यान इन्फोटेक २०२१ मा विभिन्न खण्डहरु रहने छन्, जसमा ब्राण्डिङ, आईसीटी एक्सेसरिज, गेम पार्लर, प्रडक्ट लञ्चिङ, रोबोटिक्स, इमर्जिङ्ग टेक्नोलोजी, ई–वेष्ट म्यानेजमेन्ट, वाईफाई तथा इन्टरनेट र लर्निङ सेन्टर तथा सूचना तथा सञ्चार प्रविधिसम्बन्धी रोजगार केन्द्र मुख्य हुनेछ ।

प्रदर्शनीकर्ताहरुले सफ्टवेयरहरु, नेटवर्किङ र क्लाउड सोल्युशन, मोबाइल फोन तथा सोल्युशन, इलेक्ट्रिकल तथा इलेक्ट्रोनिक्स, सेक्युरिटी सोल्युशन, सोलार पावर सिष्टम, इन्भर्टर, युपीएस, ल्यापटप तथा डेस्कटप कम्प्युटर, प्रिन्टर, पावर सिष्टम, कम्प्युटर एक्सेसरिज, एण्टिभाइरस सफ्टवेयर, बैंकिङ सोल्युशन, सीसीटीभी र हार्ड डिस्क जस्ता उत्पादनहरु प्रदर्शनी तथा विक्रिमा राख्नेछन् ।

त्यसैगरी, आर्टीफिसियल इन्टेलिजेन्ससम्बन्धी जानकारी, आईटी कलेज, बैंक, बीमा तथा लेखासम्बन्धी सफ्टवेयर, सरकारी क्षेत्रमा प्रयोगमा आएका तथा आउने सफ्टवेयर र सोलुसन्स, सेल्फ लर्निङ सफट्वेयर तथा ट्युटोरियल आदि पनि प्रर्दशनीमा रहनेछन् ।

गत वर्ष करिब साढे ३ लाखले अवलोकन गरेको क्यान इनफोटेकको यो संस्करणमा सोहि संख्यामा अवलोकनकर्ता आउने अपेक्षा गरिएकाे छ ।

साथै यस पटकको इन्फोटेकमा प्रवेश टिकटलाई पेपरलेस बनाइने भएकाे छ ।

स्टल बुकिङका लागि चैत्र ८ गतेदेखि अनलाइन बुकिङ्ग समेत खुला हुनेछ ।

Back to top