×

वीरगञ्ज १० पुष । चार वर्ष भयो उनी अहोरात्र खटिएको । जहाँबाट कामको बोलावट हुन्छ पुगिहाल्छन् । न झर्को मान्छन् न तनाव लिन्छन् । हरपल उत्साही भएर काममा खटिइहाल्छन् । यसरी नै खटिंदा खटिदै उनले आफ्नो ब्रान्ड बनाइसकेका छन् । समयमै काम फत्ते गर्ने र दीगो काम गर्ने पहिचान बनाएका छन् । यी होनहार युवा हुन् २५ वर्षीय विपिन जैसवाल ।

विपिनको कम्पनिले बिग्रिएका मोबाइल, ल्यापटप र हार्डडिस्क बनाउँदै आएको छ । सर्लाही बरहथवाका बिपिन जैसवालले आफू मात्र कमाइरहेका छैनन् २२ जनालाई प्रत्यक्ष रोजगारी दिएका छन् । कलिलो उमेरमै उनले रोजगारीको सृजना गरेका छन् । 

उनी भन्छन्,‘धेरै भन्दा धेरैलाई रोजगारी दिने मेरो सपना हो ।’ बिग्रेको सामान बनाउँदा मान्छेलाई आर्थिक फाइदा हुने र वातावरण पनि प्रदुषित नहुने, सामान बनाउनेले रोजगारी पनि पाउने । फाइदै फाइदा गराइदिएका छन् विपिनले ।

उनको कम्पनीले ब्यस्तताको कारण आउन नसक्ने ग्राहकहरुको घर तथा कार्यालयमा पुगेर निःशुल्क पिकअप र निःशुल्क डेलिभरीको सुविधा पनि दिएको छ । उनी कुनै समयमा रोजगारी खोज्नलाई काठमाडौंमा भौतारिदै हिड्थे, तर अहिले भने उनीसँग काम खोज्न आउनेहरु धेरे भएका छन् ।

दश वर्ष अगाडि काठमाडौं छिरेका जैसवाल बागबजारमा तीन महिना ल्यापटप रिपेरियरिङ सिकेको बताउछन् । उनले भने, ‘काममा दक्षता सिक्ने केही समय दिल्ली गएँ ।’ दिल्लीको अनुभव देशमा सदुपयोग गरिरहेको बताउँछन् । मनले चाहे पछि जति मेहेनत गर्न पनि सकिने उनी बताउँछन् । जैसवालले दिल्लीमा एकै समयमा दुई स्थानमा धेरै शुल्क तिरेर काम सिकेको बताए । ‘नेहरु प्यालेसमा २ लाख रुपैयाँ र डिसी सेन्टरमा ३६ हजार भारतीय रुपैयाँ तिरेर सिकेको हुँ,’ उनले भने, ‘बिहान ९ बजे गएर राति ११ बजे कोठामा फर्कन्थेँ ।’ उनले त्यहाँ ल्यापटप बनाउने चिप लेभल (विशेष कोर्ष) पुरा गरेका थिए ।

उनले सिक्ने स्थान नेहरु प्यालेसमा प्राय भारत भरीबाट बिग्रिएको ल्यापटप र कम्प्युटर आउने उनी बताउछन् । 

जैसवालले दिनभरी प्राविधिक रुपमा सिकेका कुरा रातभरी कण्ठ पार्ने गरेको सुनाए । उनलाई काम सिकेको ठाउँबाटै उतै बस्न अफर गरेको समेत सुनाउदै भने, ‘मलाई उता बस्नु मन लागेन ।’ उनलाई नेपालमा नै केही गर्ने रहर थियो तर उनले भनेको जस्तो भने सजिलो थिएन् । २०६९ सालमा काठमाडौं फर्किए उनी । भारतबाट ५० हजार भारतीय रुपैयाँका सामान खरिद गरेर उनी नेपाल आएका थिए ।

काठमाडौंको न्युरोडका प्रत्येक मोबाइल पसलमा कामको खोजीमा पुगेका थिए बिपिन । उनको ६ महिना त कामको खोजीमा बित्यो । काठमाडौंको गल्ली गल्लीका पोलपोलमा पम्पप्लेट टाँसेर होमडेलिभरीको सुविधा घरमै आएर ल्यापटप बनाउने काम गर्ने जानकारी समेत दिएको बताउँछन् बिपिन । 

त्यसक्रममा आफ्नो भिजिटिङ कार्ड छपाएर बाँड्दै पनि हिंडे । कामको खोजिमा भौतारिएका बिपिनको जावलाखेलस्थित स्पिन्स कम्प्युटरका सञ्चालक रवी महर्जनसँग चिनजान भयो। रवीको पसलमा बिग्रिएका धेरै कम्प्युटर र ल्यापटप मर्मतका लागि आउँथे । रवील बिपिनलाई विश्वास गरेर ३ वटा बिग्रिएका ल्यापटप बनाउन दिए उनी त्यो रात नसुतेर बनाएर भोलीपल्टै बिहान बुझाइदिए । त्यसपछि भने उनले निरन्तर काम पाउन थाले । चार वर्षसम्म घरमै बसेर उनले काम गरे ।

पिपुल्स प्लाजाको तेस्रो तलामा एक जनाबाट थिक्रम कम्पनीको सुरुवात गरेका चार महिनामा नै कर्मचारीको सख्या १० जना पुर्याउन सफल भए । 

उनको व्यवसाय फस्टाउदै गएको छ । पहिला पोलमा टासिएका पम्पलेट, बाँडिएका भिजिटिङ कार्ड सबैतिरबाट काम उनलाई आउन थालेपछि उनको व्यापार चम्किएको छ । तीन जनाबाट सुरु गरेको काममा सञ्चालन गरेको एक वर्षमा नै २२ जनाले रोजगारी पाएका छन् ।

अहिले उनका ग्राहकहरु बैंकका कर्मचारी, कलाकार देखि नेता, पत्रकार र व्यापारीहरु रहेको बिपिन बताउँछन् । उनले आफु र आफ्नो व्यवसाय अरुको भन्दा फरक भएको बताउँछन् । उनी भन्छन्, ‘निःशुल्क पिकअप र निःशुल्क डेलिभरी सेवा दिइन्छ ।’ निःशुल्क र डेलिभरी सेवा दिएकै कारण लकडाउनमा पनि खाली बस्न नपरेकोमा खुशी छन् उनी । उनीहरुले व्यस्तताले सामान लिन नसक्ने ग्राहकहरुलाई त्यहि निःशुल्क पुर्याउने गर्छन् ।

थ्रिकमले २९९ र ४९९ को अफर लिएर आएपछि त झन् आकर्षण बढेको छ । यो अफर अन्र्तगत उनीहरुले बिग्रिएका मोबाइल बनाउन सर्विस चार्ज २९९ रुपैयाँ र ल्यापटप, कम्प्युटर बनाउन ४९९ रुपैयाँ मात्र लिने गर्छन् । 

यसरी सेवा दिने तरीका अन्य कम्पनीको भन्दा फरक छ । थ्रिकमले वर्षको ३/४ पटक निःशुल्क मेला लगाउने गरेको छ । जसमा पालैपालो अपांग, पत्रकार, राष्ट्रसेवक कर्मचारी र महिलाहरुलाई चार्ज नलिइृ निःशुल्क सेवा दिने गरेका छन् । रिपेयरिङमा एक महिनाको वारेन्टी पनि दिने गरेका छन् र मर्मत गरिसकेपछि सामानको अवस्था कस्तो छ भनेर फलोअप पनि गर्छन् । उनको अनुसार थ्रिकममा आउने सामानहरु ८० प्रतिशत बन्छन । ‘बाँकी अरु सामान नपाएर र एकदमै महँंगो भएर मात्र बन्दैनन्,’ बिपिनले भने ।

बिपिनलाई सानैदेखि व्यापारी हुने मन थियो । ४/५ कक्षामा पढ्दा पनि पोस्टकार्ड बेच्ने गर्थे उनी । पछि सिमकार्ड, रिचार्ज कार्ड बेच्न थाले । बिपिनले आफु अहिलेको अवस्थामा पुग्न सक्नुमा ठुलो दाजुलाई श्रेय दिन्छन् ।

अब उनी सातै प्रदेशमा ७ जनालार्ए निःशुल्क एक वर्षसम्म रिपेयरिङ सिकाउने योजनामा छन् र सातै प्रदेशमा कलेक्सन सेन्टर खोलने योजना बनाइरहेका छन् । उनको प्रत्येक वर्ष युवाहरुलाई तालिम दिने र नयाँ नयाँ स्किम ल्याउने तयारी छ ।

Back to top