×

वीरगञ्ज २९ असोज । विश्व हातधुने दिवसको अवसरमा वीरगञ्जमा ‘हात धोऔं कोरोनाबाट बचौं’ भन्ने नाराका साथ मनाइएको छ ।

कोभिड वारियर्स र संस्कृतीको संयुक्त आयोजनामा विश्व हातधुने दिवसको अवसरमा वीरगञ्ज महानगरपालिका वडा नम्बर १६ लक्षमीनारायण टोलस्थित दलित बस्तिका बालबालिकाहरुलाई हात धुँदा हुने फाइँदाको बारेमा जानकारी दिई जनचेतनामूलक कार्यक्रम गरिएको थियो ।

कार्यक्रममा कोभिड वारियर्सका प्रतिनिधिहरुले विश्व स्वास्थ्य संगठनको विधि अनुसार बालबालिकाहरुलाई साबुन पानी प्रयोग गरेर हात धुन सिकाएका थिए । उनीहरुले साबुन पानीले हात धुँदाको फाइदा र कुन-कुन बेला हात धुनु पर्छ भन्ने बारेपनि बालबालिकाहरुलाई जानकारी गराएका थिए ।

विपन्न तथा गरिब समुदायको बसोबास रहेको दलित बस्तिमा जनचेतनाको अभावका कारण त्यहाँका बालबालिकाहरु वर्षेनी कयौं किसिमको रोगबाट संक्रमित हुनेदेखि ज्यान समेत गुमाउने गरेका छन् ।

आगामी दिनमा यस्ता घटनालाई न्यूनीकरण गर्न दलित बस्तीलाई प्राथमिकतामा राखेर कार्यक्रम आयोजना गरेको वारियर्सका प्रतिनिधि हेमन्त तामाङले बताए ।

उनले बालबालिकामा आएको चेतनाले समाज परिवर्तनमा ठूलो भूमिका रहने भएकाले पनि विशेषगरेर बालबालिकाहरुलाई सिकाइएको बताए ।

कार्यक्रममा कोभिड वारियर्सका संयोजक नवराज फुँयाल, शक्ति अग्रवाल, वीरगञ्ज युवा समाजका अध्यक्ष कमल चौगाई, संस्कृतीका का. अध्यक्ष आशुकुमार सर्राफ, स्वास्थ्यकर्मी निक्की उपाध्याय, मनिषा पाण्डे, अश्मिता थापा, सौरभ श्रेष्ठलगायतको सहभागिता रहेको थियो ।

सन् २००८, अक्टोबर १५ तारिखदेखि यो दिवस मनाउन थालिएको हो । सरसफाइमा ध्यान नपुर्याउँदा विश्वमा हरेक वर्ष लाखौँ बालबालिकाको ज्यान जाने गरेको छ ।

Back to top