वीरगञ्ज २९ असोज । वीरगञ्जका ट्रान्सपोर्ट व्यावसायिले अबदेखि दिउँसो ठुला सवारीसाधन प्रयोग गरेर सामग्री लोड-अनलोड नगर्ने सहमति जनाएका छन् ।
जिल्ला प्रहरी कार्यालय पर्सा, जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्सा, ग्रिन सिटि सामुदायिक सेवा केन्द्र आदर्शनगर र ट्रान्सपोर्ट व्यवसायी संघ पर्सा बीच बिहिबार सम्पन्न छलफल पश्चात ट्रान्सपोर्ट व्यवसायीहरुले यस्तो प्रतिवद्धता जनाएका हुन् ।
ट्रान्सपोर्ट व्यवसायीहरुले दिउँसै सडकमा ट्रक, पिकअप जस्ता ठुला सवारीसाधन सडकमा राखेर सामग्री लोड अनोलोड गर्ने गरेको कारण स्थानीयहरुलाई आवज जावतमा समस्या हुने गरेको थियो । कहिले काहिँ सडकको दुवै तर्फ ट्रकहरु पार्क हुँदा त् घण्टौसम्म ट्राफिक जामनै लाग्ने गरेको थियो । समय-समयमा समस्या समाधानका लागि पहल गरिएपनि त्यसको कुनै निक्र्योल भने निस्किन सकेको थिएन ।
पर्साकी प्रहरी उपरीक्षक गङ्गा पन्तको विशेष पहलमा बिहिबार बसेको बैठकमा ट्रान्सपोर्ट व्यवसायीहरुले अबदेखि राति मात्र सामग्री लोड अनलोड गर्ने सहमत जनाएका छन् । ट्रान्सपोर्ट व्यवसायीहरुले अबदेखि साँझ ७ बजेदेखि बिहान ७ बजेसम्म मात्र सामग्री लोड अनलोड गर्ने छन् ।
व्यवसायीहरुले तिहारपछि भने समय परिवर्तन गरेर साँझ ८ बजेदेखी बिहान ७ बजेसम्म गर्न दिने सहमति भएको ग्रिन सिटि सामुदायिक सेवा केन्द्र आदर्शनगरका अध्यक्ष जयप्रकाश खेतानले जानकारी दिए ।
उनीहरुले रातिको समयमा पनि सडकको एक तर्फ मात्रै सवारीसाधनलाई पार्क गर्ने सहमति जनाएको खेतनाले बताए । व्यवसायीहरुले सहमति अनुसार काम नगरे कानुन कारवाही समेत भोग्न तयार रहेको जनाएका छन् ।
बैठकमा वडा प्रहरी कार्यालय विर्ताका प्रमुख राजेश राज पूरी, प्रहरी निरीक्षक सरोज प्रजापति, ट्रान्सपोर्ट एसोसिएसनका अध्यक्ष बाल कृष्ण पोखरेल, सचिव नवराज अधिकारी, ग्रिन सिटि सामुदायिक सेवा केन्द्र आदर्शनगरका अध्यक्ष जयप्रकाश खेतानलगायतको उपस्थितीमा रहेको थियो ।