×

वीरगञ्ज १४ असोज । चितवन राष्ट्रिय निकुञ्जबाट गाउँ पस्ने हात्ती रोक्न पर्सा ठोरी गाउँपालिका १ का युवा आफैंले तारबार लगाउन थालेका छन् ।

निकुञ्जबाट दिनहुँ गाउँ छिर्ने हात्तीले स्थानीयले लगाएको बालिनालि नष्ट गरिदिनुका साथै घरसमेत भत्काइदिने गरेको छ । हात्तीकै आक्रमणमा परेर वर्षेनी ३ जनाभन्दा बढीले ज्यान गुमाउने गरेका छन् । हात्ती गाउँ छिर्न नदिन स्थानीय युवाहरुले सिङ्गल फेज तार लगाउने काम अघि बढाएका छन् ।

ठोरी १ को च्यानघाटबाट सुरु गरिएको तार लगाउने काम रोजिनगरको दुर्गा मन्दिरसम्म पु¥याइएको छ । हात्ती गाउँ छिर्न नदिन जंगलको किनारै किनार च्यानघाटबाट चौतारासम्म सिंगल फेज तार लगाइने स्थानीय पदमबहादुर कुवँरले बताए । बुधबार दुर्गा मन्दिरबाट चौतारासम्मको क्षेत्रमा तार जालि लगाउने काम सकिने पनि कुवँर बताउँछन् ।

ठोरी १ मा रहेको ऐतिहासिक फुटबल ग्राउण्डमा फुटबल खेल्न आउने युवाहरुको सहयोगमा हात्ती रोक्न तार जालि लगाउने काम भइरहेको अर्का स्थानीय युवा सुरज लामाले बताए । गाउँपालिका र निर्मल ठोरी मध्यवर्ती उपभोक्ता समितिलाई पटक पटक भन्दा पनि हात्ती नियन्त्रणका लागि ठोस कदम नचालेपछि युवाहरु नै तारजाली लगाउन अघि बढेको लामाले बताए ।

युवाहरुले काम अघि बढाएपछि अहिले निर्मल ठोरी मध्यवर्ती उपभोक्ता समितिले ७ हजार रुपैयाँ उपलब्ध गराएको छ । उपभोक्त समितिका अध्यक्ष बाल कुमार बस्नेतले ठोरी १ सामुदायिक वनका अध्यक्ष कमलबिक्रम तिमिल्सिनालाई उपलब्ध गराएको सात हजार रुपैयाँले युवाहरुले तार खरिद गरेर झण्डै तीन किलोमिटर क्षेत्रमा तारजाली लगाउने काम गरेका हुन् ।

चितवन राष्ट्रिय निकुञ्जबाट निस्केको हात्तीले ठोरी गाउँपालिका १ र २ मा आतंक मच्चाउनुका साथै खेतमा लगाएको बाली नालीमा क्षति पुर्‍याएको छ । दैनिक जंगलबाट गाउँछिर्ने हात्तीका कारण स्थानीय त्रासमा रात कटाउन बाध्य छन् ।

हात्तीले गरेको क्षतीपूर्ति पाउन निकै सास्ती हुने गरेको स्थानीयको भनाइ छ । मध्यवर्ती उपभोक्ता समिति र गाउँपालिकाले जंगली जनावरबाट बालिनालिमा भएको क्षतिको राहत उपलब्ध गराउने भनेको भए पनि स्थानीयले त्यस्तो राहत पाउन सकिरहेका छैनन् ।

राहतका लागि निवेदन गर्दा विभिन्न कागज पत्र माग गर्ने हुँदा स्थानीय त्यो झण्झटमै पर्न नचाहने गरेको स्थानीय सुरज लामाले बताए ।

Back to top