वीरगञ्ज १३ असोज । सुनचाँदी व्यवसायी महासङ्घ प्रदेश २ को अध्यक्षमा शिव सर्राफसहित सम्पूर्ण प्यानल निर्विरोध विजयी भएको छ ।
सोमबार वीरगञ्जस्थित हरिओम पार्टी प्यालेसमा आयोजित महासङ्घ प्रदेश नं २ को निर्वाचनमा शिवकुमारको प्यानल निर्विरोध विजयी भएको हो ।
हिजो सम्पन्न निर्वाचनमा निर्वाचन अधिकृत अधिवक्ता विनय सिंहका अनुसार शिव सर्राफ प्रदेशको अध्यक्ष निर्विरोध चयन भएको बताए ।
उनले सर्राफसँगै महासङ्घको उपसभापति प्रवेशकुमार सर्राफ, वसन्तकुमार साह, सचिव विनोदकुमार भण्डारी, सहसचिव अमित गुप्ता, कोषाध्यक्ष कमलेश साह र सह कोषाध्यक्षमा भगवान साहलगायत सदस्यहरूपनि निर्विरोध निर्वाचित भएको जानकारी दिए ।
महासंघको केन्द्रिय निर्णय अनुसार प्रदेश अन्तर्गतको ८ वटै जिल्लाको प्रतिनिधिहरुको उपस्थितीमा अधिवेशन सम्पन्न भएको अधिकृत सिंहले जनाए ।
सिंहले सार्वजनिक गरेको कार्यतालिका अनुसार एकल उम्मेदवार सर्राफ भएको कारण उनलाई निर्विरोध अध्यक्ष घोषणा गरेको जानकारी दिए । निर्वाचित पदाधिकारीलाई हिजै प्रमाण पत्रसमेत वितरण गरिएको थियो ।
प्रजातान्त्रिक तरिकाबाट सम्पन्न निर्वाचनलाई केहि उच्छृङ्खल व्यक्तिहरुले भाड्न खोजेपनि विफल भएको नवनिर्वाचित अध्यक्ष सर्राफले बताए । उनले सुनचाँदी व्यवसायी महासङ्घको केन्द्रीय निर्देशन अनुसार निर्वाचन सम्पन्न भएको दावी गरे ।
निर्वाचनमा व्यवसायी महासङ्घ पर्साका अध्यक्ष निरज कुमार सर्राफ, बाराका प्रतिनिधि शिव कुमार सर्राफ, सर्लाहीका प्रतिनिधि कमलेश साह, सप्तरी प्रतिनिधि राजेशे कुमार साह, धुनषा प्रतिनिधि अमित गुप्ता, लहान नगर प्रतिनिधि श्याम कुमार साह, पर्साका जलेश्वर सर्राफलगायत ३८ जना मतदाताहरुको सहभागीता रहेको थियो ।
मत जुटाउन असफल भएपछि विपक्षीले निर्वाचन अवैधानिक तरिकाबाट सम्पन्न भएको आरोप लगाउँदै उच्च अदालतबाट निषेधाज्ञा ल्याउन खोजेपनि विफल भएको निर्वाचन अधिकृत सिंहले बताए । उक्त समुहले निर्वाचन आफुहरुलाई मान्य नहुने भन्दै हिजो वीरगञ्जमा पत्रकार सम्मेलनसमेत गरेका थिए ।