×

वीरगञ्ज १२ असोज । पर्सा जिल्लाको विभिन्न स्थानमा विगत केहि दिनदेखि एनसेलको नेटवर्कमा समस्या आउँदा स्थानीयहरुलाई सास्ती खेप्नु परेको छ । जिल्लाको अधिकान्स क्षेत्रमा बिहानैदेखि एनसेलको नेटवर्क र इन्टरनेट सेवामा समस्या आउँदा स्थानीयहरुलाई गाह्रो भएको हो ।

नेटवर्क नियमित नहुँदा समयमा फोन नलाग्ने, इन्टरनेट नचल्ने, ठाउँ-ठाउँमा नेटवर्क गायब हुने जस्ता समस्या खेप्नु परेको स्थानीयहरुले गुनासो गरेका छन् ।

समस्या बारे एनसेलको ग्राहक प्रतिनिधि सेवा केन्द्रमा पटक-पटक जानकारी गराउँडा समेत कुनै समाधान नभएको स्थानीयहरुको आरोप छ ।

कोभिडको समयमा सूचनाप्रविधिले सम्पूर्ण संसारलाई जोडिरहेको बेला एनसेलको नेटवर्कमा रामरी काम नगर्दा विद्यार्थीहरुलाई अनलाइन कक्षाबाट पठनपाठनमा समेत समस्या परेको छ ।

वीरगञ्ज महानगरपालिका वडा नम्बर ९ का सुनील शर्माले एनसेलको नेटवर्क नियमित नहुँदा आफुहरुले महँगो पैसा तिरेर किनेको डाटा प्याकसमेत प्रयोग नगरी सक्किने गुनासो गरे । उनले एनसेलले आफ्नो उपभोक्ताहरुलाई ठग्दै गरेको समेत गरेको आरोप लगाए ।

उनेल एनसेलको नेटवर्क समस्याका कारण आफ्नो छोरा एक दिनको पढाईबाट बंचित हुनुपरेको बताए ।

त्यसैगरी वीरगञ्जका उद्योगीहरुले पनि एनसेलको नेटवर्कका कारण आफुहरु हैरान भएको दु:खेको पोखेका छन् । एनसेलले उपलब्ध गराउने कर्पोरेट सिमबाट आफ्नो उद्योगका कर्मचारीहरुलाई सम्पर्क गर्न खोज्दा समेत समयमा नलाग्ने, मुख्य शहरी क्षेत्रबाट अलि टाढा जानसाथ नेटवर्क गायब हुने जस्ता समस्या रहेको बताए ।

एनसेलले पछिल्लो समय विभिन्न स्किमहरु निकालेर अनियन्त्रित तरिकाबाट सिम बेचेको कारण यस्तो समस्या पर्न सकेको विज्ञहरुले बताएका छन् । सिम धेरै बाँडेर त्यसको भार सहनका लागि थप टावर निर्माण नगर्दा यस्तो समस्या आएको हुनसक्ने भारतको एयरटेल कम्पनिमा काम गर्ने आइटि विज्ञ सुदर्शन पण्डितले बताए ।

Back to top