वीरगञ्ज १२ असोज । पर्सामा कार्यरत एक स्वास्थ्यकर्मीको कोरोना संक्रमणका कारण मृत्यु भएको छ ।
कोरोना संक्रमण पुष्टि भइ काठमाडौँस्थित करुणा अस्पतालमा उपचार गराई रहेका ५८ वर्षीय स्वास्थ्यकर्मी रामसकिल साहको सोमबार उपचारको क्रममा मृत्यु भएको हो ।
महोत्तरी जिल्लाको सवैला स्थायी घर भइ पर्साको जगरनाथपूर गाउँपालिकाको स्वास्थ्य शाखामा कार्यरत साहको आज बिहान साढे ८ बजे मृत्यु भएको छ ।
जिल्ला स्वास्थ्य कार्यालय पर्साका हेल्थ इन्स्पेक्टर जयमोद ठाकुरका अनुसार २० दिन पहिला स्वास्थ्यमा समस्या आएपछि उनि आफ्नो गाउँ गएका थिए । उपचार गराउन जनकपुर पुगेका उनको स्वास्थ्यमा सुधार नआएपछि चिकित्सकले उनलाई थप उपचारकालागि काठमाडौँ रेफर गरेका थिए ।
सुरुमा काठमाडौँको टिचिङ्ग अस्पतालमा भर्ना भएका उनको पिसिआर प्रविधि मार्फत कोरोना परिक्षण गर्दा पोजेटिभ आएपछि अस्पतालले उनलाई आइसियू खालि नभएको भन्दै अन्तै जान सुझाव दिएको थियो ।
काठमाडौंको विभिन्न अस्पताल डुलाउँदा पनि कसैले भर्ना लिन नमानेपछि उनलाइ बुढानिलकण्ठस्थित करुणा अस्पतालमा भर्ना गरिएको ठाकुरले बताए ।
पर्सामा कोरोना संक्रमणबाट पहिलो पटक कुनै स्वास्थ्यकर्मीको मृत्यु भएको ठाकुरले जानकारी दिए ।