वीरगञ्ज ११ असोज । विश्व पर्यटन दिवसको अवसरमा भिजिट मधेश नेपालले वीरगञ्जमा “पर्यटन क्षेत्रको पुनरुद्वार” विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ ।
भिजिट मधेश नेपालको आयोजना तथा उद्योग पर्यटन बन तथा वावरण मन्त्रालय प्रदेश न. २, वीरगञ्ज महानगरपालिका र वीरगञ्ज भिस्वा युवा क्लबको सयुक्त सहकार्यमा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको हो । प्रदेश न. २ कै प्रचुर सम्भावना बोकेको पर्यटकिय स्थल वीरगञ्ज महानगरपालिका वडा न. १५ मा अवस्थित भिस्वा डाँडामा सरसफाई, वृक्षरोपणका साथै अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको हो ।
अभियानका राष्ट्रिय संयोजक ओम प्रकाश सर्राफको सभापतित्वमा भएको कार्यक्रममा वीरगञ्ज महानगरपालिकाका नगरप्रमुख बिजय कुमार सरावगी, वीरगञ्ज उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष सुवोध गुप्ता, वीरगञ्ज बौद्ध समितिका उपाध्यक्ष एवम नागरिक समाजका अगुवा प्राध्यापक डा. दिपक शाक्य, वीरगञ्ज युवा समाजका अध्यक्ष कमल चौगाई, पर्यटन पत्रकार संघ पर्साका अध्यक्ष शंकर आचार्य, होटेल एशोसियन संघका केन्द्रिय सदस्य माधव बस्नेत लगायतको उपस्थिती रहेको थियो ।
कार्यक्रमलाई सम्बोधन गर्दै वीरगञ्ज महानगरपालिकाका नगरप्रमुख बिजय कुमार सरावगीले नया पर्यटकिय स्थलको पहिचान, पहिचान भइसकेका स्थलको प्रवद्र्धन र बिकास गर्न सबैले हातेमालो गर्नुपर्नेमा जोड दिनुभयो । स्थानीयस्तरमा भएका पर्यटकि स्थलको भरपुर सदुपयोग गरेर लाभ लिनुपर्ने आवश्यक्ता औल्याउँदै मेयर सरावगीले कोरोना भाइरसको महामारीले पर्यटन क्षेत्रमा पारेको प्रभावलाई सबैको सयुक्त प्रयासबाट मात्रै निराकारण गर्न सकिने धारणा राख्नुभयो ।
कार्यक्रमलाई सम्बोधन गर्दै वीरगञ्ज उद्योग वाणिज्य संघका बरिष्ठ उपाध्यक्ष सुवोध गुप्ताले पर्सा जिल्ला देशकै मुख्य प्रवेशद्वार भएपनि अपेक्षा अनुसार पर्यटक भित्र्याउन नसक्नु दुखद भएको बताउनुभयो । आर्थिक नगरी तथा औद्योगिक नगरी जस्तो क्षेत्रमा पर्यटकको प्रचुर सम्भावना हुँदा हुँदै पनि स्रोत साधनको उचित सदुपयोग र राजनितिक खिचातानीका कारण पर्यटन क्षेत्र मारमा परेको उहाँको बुझाई छ ।
नागरिक समाजका अगुवा प्राध्यापक डा. दिपक शाक्यले पनि सम्भावनाले भरिएको क्षेत्रमा हामीले विदेशको कल्पना गरेर आफ्नो क्षेत्रको बिकास गर्न नसक्ने तर्क गर्नुभयो । शिक्षा क्षेत्रको हब मानिने वीरगञ्जमा अध्ययन गर्ने र अध्यापन गर्ने क्रममै थुप्रै आन्तरीक पर्यटक भित्र्याउन सकिने शाक्यले बताउनुभयो ।
कार्यक्रमको समापन गर्दै अभियानका राष्ट्रिय अध्यक्ष सर्राफले मधेशका लुकेका पर्यटकिय स्थलको पहिचान गरेर विश्वसामु चिनाउन सफल भएको बताउनुभयो । मधेशमा भएका धार्मिक, सांस्कृतिक, प्राकृतिक तथा ऐतिहासिक धरोहरहरुको संरक्षण र संवद्र्धनका निम्ती भिजिट मधेशले सदैब सक्रियताका साथ काम गर्ने प्रतिबद्धता पनि उहाँले व्यक्त गर्नुभयो ।
कार्यक्रममा वीरगञ्ज भिस्वा युवा क्लबका अध्यक्ष उदय नारायण कुश्वाहाले स्वागत मन्तव्य व्यक्त गर्नुभएको थियो ।