वीरगञ्ज १० असोज । विश्व पर्यटन दिवसको अवसरमा भिजिट मधेसले देशव्यापी कार्यक्रम आयोजना गर्ने भएको छ ।
कोरोना महामारीका कारण नराम्ररी थलिएको क्षेत्रलाई पुन: उकास्न भिजिट मधेस नेपालले विभिन्न कार्यक्रम गर्दै देशभरी विश्व पर्यटन दिवस मनाउन लागेको हो ।
संस्थाले विगतका वर्षहरुमापनि विशेषगरी तराई-मधेसको पर्यटन क्षेत्रलाई प्रवर्द्धन गर्न विभिन्न कार्यक्रमहरु आयोजना गर्दै आएको छ ।
त्यही परम्परालाई निरन्तरता दिँदै यस वर्षपनि संस्थाले पर्सा, बारा, रौतहट, सर्लाही, जलेश्वर, धनुषा, सप्तरीलगायत प्रदेश नं. १ र ५ का विभिन्न जिल्लाहरुमा पर्यटकीय स्थलहरुको सरसफाई, भौतिक दूरीलगायतको मापदण्डलाई पालन गर्दै अन्तरक्रिया, वृक्षरोपण जस्ता कार्यक्रमहरु गर्ने योजना राखेको छ ।
भिजिट मधेसका राष्ट्रिय संयोजक ओमप्रकाश सरार्फले कार्यक्रमहरु मार्फत कोरोनाभाइरस महामारीको कहरले लामो समयदेखि ठप्प रहेको पर्यटन क्षेत्रको पुनरुद्धार हुने विश्वास व्यक्त गरे ।
त्यसैगरी संस्थाका ग्लोबल संयोजक राज सर्राफले उनले महामारीबाट नेपाललगायत अन्य मुलुकहरु बाहिरी रहेको अवस्थामा सरकारले पर्यटन क्षेत्रलाई उकास्न विशेष योजना ल्याउन दवाव स्वरूपपनि कार्यक्रम आयोजना गर्नी लागिएको बताए ।
भिजिट मधेसले विगत चार वर्षदेखि तराई-मधेस क्षेत्रमा पर्ने सम्पूर्ण जिल्लाहरुको पर्यटन प्रवर्द्धनमा सुधारसहित त्यसको प्रचार प्रसारका लागि विभिन्न कामहरु गर्दै आएको छ । संस्थाले हाल नेपालको २२ वटा जिल्लाहरुमा शाखा खोली सक्रिय रुपमा काम गरिरहेको संयोजक सर्राफले बताए ।