वीरगञ्ज ८ असोज । पर्सा प्रहरीले तिन लाख बराबरको अवैध लता कपडा र सुर्ती बरामद गरेको छ ।
विभिन्न मितिमा भन्सार छलीगरी ल्याई भण्डारणगरी राखिएको लगभग तिन लाख मूल्य बारबारको लताकपडा र सुर्ती जिल्ला प्रहरी कार्यालय पर्साले बरामद गरेको हो ।
विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय पर्साबाट खटेको टोलिले वीरगञ्जको दुई स्थानमा छापा मारेर उक्त मूल्य बराबरको लताकपडा र सुर्ती बरामद गरेको हो ।
प्रहरीले वीरगञ्ज महानगरपालिका वडा नम्बर ८ कुम्हाल टोल बस्ने सुजित कुमार सिंहको घरमा डेरा लिएर बस्दै आएका एक अज्ञात व्यक्तिको कोठाबाट कपडा १९३ पीस, थानको कपडा ३० थान, नाइटी ३३ पिस र काटेको सुर्ती ३४ केजी बरामद गरेको छ ।
त्यसैगरी प्रहरीले वीरगञ्ज महानगरपालिका वडा नम्बर ३ छपकैयास्थित श्रीराम हलको दक्षिणपट्टी टिनाको छाप्रोमा अनाधिकृत रुपमा भण्डारण गरेर राखिएको रेडिमेट सर्ट १३७ पिस र काटेको सुर्ती ४५ केजी बरामद गरेको जनाएको छ ।
बरामद गरिएको सबै सामग्रीलागी थप कारवाहीकालागि वीरगञ्ज भन्सार कार्यालयमा बुझाउने तयारी भइरहेको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ ।