वीरगञ्ज ८ असोज । चिकित्सा शिक्षा सुधारको माग राख्दै अनसनरत डाक्टर गोविन्द केसीको समर्थनमा वीरगञ्जका कार्यक्रम गरिएको छ । वीरगञ्जमा रहेका डाक्टर गोविन्द केसी समर्थकहरुले बिहिबार घण्टाघरमा साँझ कार्यक्रम गरेका हुन् ।
समर्थकहरुले डाक्टर केसीको मागलाई यथासिघ्र सम्बोधन गर्ने माग गर्दै विभिन्न नाराबाजी समेत गरेका थिए । त्यसैगरी वीरगञ्जका चिकित्सकहरुले पनि डाक्टर केसीको अनसनमा ऐक्यबद्धता जनाएका छन् । चिकित्सकहरुले डा. केसीसँग काठमाडौँमा भएको अभद्र व्यवहारको विरोध गर्दै ऐक्यबद्धता जनाएका हुन् ।
चिक्तिसकाहरुले डा. केसीमाथि भएको अभद्र व्यवहारको विरोध गर्दै आज हातमा कालोपट्टी बाँधेर काम गरेका छन् ।
जनताको प्रत्यक्ष सरोकारको विषयमा आवाज उठाउनु आम नागरिकको प्रजातान्त्रिक अधिकार भएको मुलुकमा बल प्रयोग गरी अमर्यादित ढंगले अनसनरत डाक्टर केसीमाथि अभद्र व्यवहार गर्नु खेदजनक भएको नेपाल चिकित्सक संघ नारायणी अञ्चल शाखाले जनाएको छ ।
शाखा सचिव उदय नारायण सिंहले बिहिबार एउटा विज्ञप्ति जारी गर्दै गुणस्तरीय स्वास्थ्य सेवा र चिकित्सा शिक्षा सुधारका लागि डा. केसीसँग तत्काल वार्ता गरी जायज मागहरु सम्बोधन गर्न माग गरेका छन् ।
१९ बुँदे माग अघि सार्दै डा. केसीले जुम्लाको चन्दनाथ नगरपालिका–६ रानीचौर स्थित बाविरामष्ट मन्दिरमा गत भदौ २९ गतेदेखि अनसन सुरु गरेका हुन् । स्वास्थ्य विग्रिँदै गएपछि उनलाई काठमाडौं ल्याएर उपचार थालिएको छ ।
राष्ट्रिय ट्रमा सेन्टरभित्र लैजाने क्रममा उनलाई प्रहरीले अभद्र व्यवहार गरेको चिकित्सक तथा स्वास्थ्यकर्मीहरुको आरोप छ । राष्ट्रिय ट्रमा सेन्टरमा जान डा. केसीले नमानेपछि उनकै इच्छाअनुसार त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा भर्ना गरिएको छ ।