×

वीरगञ्ज ८ असोज । लामो दुरीका यातायात तथा आन्तिरक उडान सुरु भएसँगै संक्रमण फैलिने जोखिम बढेको छ । यातायात व्यवसायीले सरकारी निर्देशन तथा मापदण्डको पालना नगरी यात्रु ओसारपसार गर्न थालेपछि संक्रमणको जोखिम बढेको हो ।

सरकारले कुल सिट क्षमताको ५० प्रतिशत मात्र यात्रु बोकेर सवारीसाधन सञ्चालन गर्नुपर्नेलगायत निर्देशन दिएपनि त्यसको पालन भने हुनसकेको छैन । वीरगञ्जबाट दैनिक चल्ने सयौँ सवारीसाधनले सरकारले निर्देशित गरेको कुनै मापदण्डको पालना नगरेको पाइएको छ ।

यता भारतको विहार राज्यबाट लुकिछिपी नेपाल प्रवेश गरेर मुलुकको विभिन्न स्थानमा जानेहरुपनि सोहि यात्रुहरुको समुहमा मिसिदा संक्रमणको जोखिम झन् बढ्ने चिकित्सकहरुले चिन्ता व्यक्त गरेका छन् । बिहारमा हाल दुई लाख भन्दा बढी सक्रिय संक्रमित रहेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

यसैबिच यातायात व्यवसायीले यात्रुहरुबाट तोकिएको भाडा भन्दा बढी लिने गरेको गुनासोपनि बढ्न थालेको छ । सरकारले नियमित भाडा भन्दा ५० प्रतिशत बढाएर यात्रुहरुसँग लिन आग्रह गरेपनि यातायात व्यवसायीले त्यसकोपनि व्यवस्था गरेका छन् ।

वीरगञ्जबाट काठमाडौँकोलागि चल्ने सुमोले त् यात्रुसँग दुई हजारसम्म भाडा असुल्ने गरेको सर्वसाधारणको गुनासो छ । सरकारले तोकेको भाडामा यात्रुलाई व्यवसायीहरुले गाडीमा चदाउँन नमानेपछि यात्रुहरुलाई थप सास्ती खेप्नु परेको छ ।

व्यवसायीहरुले मनोमानी ढंगबाट सरकारी निर्देशनको धज्जी उडाई रहेको बेला स्थानीय प्रशासन भने मुकदर्शक बनेर बसेको छ । प्रशासनले नियमित अनुगमन नगर्दा यातायात व्यवसायीको मन बढेको स्थानीय समाजसेवी मनोरमा सर्राफले बताइन ।

उनले सरकारी नियम उल्लंघन गरेको सवारीहरुलाई नियम बमोजिम कारवाही गर्नुपर्ने धारणा राखिन ।

Back to top