×

वीरगञ्ज ८ असोज । ईंट्टा उद्योगमा बम पड्काएर फिरौती माग्ने समूहको एक फरार अभियुक्तलाई बारा प्रहरीले पक्राउ गरेको छ । परवानीपुर गाउँपालिका–१ घर भएका ३६ वर्षीय कपिलदेव महतो पक्राउ परेका हुन् ।

परवानीपुर गाउँपालिका–४ स्थित एमएस ईंट्टा उद्योगका सञ्चालकलाई एसएमएस र फोनमार्फत धम्की दिँदै फिरौती माग्ने कार्यमा कपिलदेव समेत संलग्न रहेको जिल्ला प्रहरी कार्यालय बाराका प्रमुख प्रहरी उपरीक्षक कृष्ण पंगेनीले जानकारी दिए ।

घटनापछि फरार उनी केही दिनअघि नेपाल प्रवेश गरी पुनः आपराधिक गतिविधिमा संलग्न हुन लागेको सूचनाको आधारमा पक्राउ गरिएको बारा प्रहरीले जनाएको छ ।

इलाका प्रहरी कार्यालय प्रसौनी बारा र इलाका प्रहरी कार्यालय परवानीपुर बाराबाट खटिएको प्रहरी टोलीले कपिलदेवलाई नियन्त्रणमा लिएको थियो ।

प्रहरीका अनुसार मंगलबार राति १० बजे घेराबन्दी गरी परवानीपुरस्थित घरबाटै उनलाई पक्राउ गरिएको हो ।

नियन्त्रणमा लिएका कपिलदेवलाई आवश्यक कारबाहीका लागि जिल्ला अदालतमा पठाउने तयारी भइरहेको प्रहरीले जनाएको छ ।

प्रहरीले यसअघि सोहि समुहका परवानिपुर गाँउपालिका-४ घर भएका प्रमोद साह गोढ, देव शंकर राम, जीतपुरसिमरा उपमहानगरपालिका-२० घर भएका अच्छेलाल गोसाई र फेटा गाँउपालिका-३ बस्ने दिपेन्द्र कुमार धानुकलाई पक्राउगरी अदालतको आदेश अनुसार पुर्वपक्षकालागि वीरगञ्ज कारागार चलान गरेको छ ।

समुहले ईंट्टा उद्योगका सञ्चालकसँग फोन र एसएमएस मार्फत १५ लाख रुपैयाँ मागेका थिए ।

Back to top