×

वीरगञ्ज ७ असोज । पर्साकाे पटेर्वासुगौली र सखुवाप्रसौनी गाउँपालिकामा मौसम परिवर्तनसँगै रुघाखोकी, ज्वरो, झाडापखाला र चर्मरोगका बिरामीहरू बढेका छन् ।

पटेर्वासुगौलीमा रहेका चारवटा स्वास्थ्य चौकी र सखुवाप्रसौनीमा रहेका ६ वटा स्वास्थ्य चौकीमा बिरामीहरूको सङ्ख्या बढेको छ ।

पटेर्वासुगौली, निचुटा स्वास्थ्य चौकीका इन्चार्ज प्रमोद कर्णले मौसम परिवर्तनसँगै रुघाखोकी, ज्वरो, झाडापखाला, चर्मरोगका बिरामीहरू बढेको बताए ।

सामान्य अवस्थामा २०/३० जना बिरामी आउने गरेकोमा अहिले दैनिक ५०/६० जना आइरहेको उनले बताए । इन्चार्ज कर्णले मुख्यतः धानखेतीमा काम गर्ने मजदूरहरू बढी बिरामी भएर स्वास्थ्य चौकीमा आउने गरेको बताए ।

घाममा खेतीपातीमा खट्ने मजदुरहरूमा यो समस्या भएको भन्दै उनले शरीरले धान्नेभन्दा बढी मेहनत नगर्न र आराम गर्न सुझाव दिने गरेकाे बताउँछन् । शरीरले धान्नेभन्दा बढी काम गरेको कारण पनि रोगको शिकार हुनुपरेको उनको भनाइ छ ।

Back to top