वीरगञ्ज ६ असोज । नेपाल इण्डो हस्पिटलका सञ्चालक चन्द्र शेखर (डा.शेखर)ले आफ्नो अस्पतालमा अति विपन्न तथा गरिब परिवारहरूलाई निःशुल्क उपचार गर्ने प्रतिबद्धता दोहोर्याएका छन् ।
संयुक्त एम्बुलेन्स चालक संघको भातृ संगठन ट्रेड युनियन संघ रौतहटको दोस्रो जिल्ला सम्मेलनलाई सम्बोधन गर्दै उनले यस्तो प्रतिबद्धता दोहोर्याएका हुन् ।
उपचारका लागि आवश्यक पैसा नभएका वास्तवमै विपन्न परिवारका सदस्यको अस्पतालले नि:शुल्क उपचार गराउने अभियान नै अघि बढाएको बताए ।
पैसा अभावमा अब उपचारबाट कसैलाई पनि बन्चित हुन नपरोस भनेर नै आफूले वास्तवमै विपन्न परिवारका बिरामी सदस्यको उपचार गराउँदै आएको बताए । पैसा अभावमा उपचारबाट वञ्चित भएका विपन्न परिवारलाई हस्पिटलमा सम्पर्क गर्न पनि अस्पताल प्रमुख शेखरले आग्रह गरेका छन् ।
पैसाको अभावमा कसैले पनि अकालमै मृत्यु वरण गर्न नपरोस भन्ने सोचका साथ अति गरीबलाई निःशुल्क र मध्यम परिवारलाई सहुलियत दरमा उपचार गर्ने उनले बताए ।
त्यस्तै देश र समाजको सेवामा सदैव तत्पर रहने प्रहरी, पत्रकार र एम्बुलेन्स चालकका घर परिवारका सदस्यहरूलाई पनि सकेसम्म निःशुल्क त्यो नभए सहुलियत दरमा उपचार गर्ने घोषणा पनि उनले गरे ।
रौतहटको शिवनगरमा भएको कार्यक्रममा प्रदेश सांसद कुन्दन कुशवाहा, नेपाल सुनचाँदी महासंघका केन्द्रीय उपाध्यक्ष रामजी साह, हेल्थ ल्याण्ड हस्पिटलका डाक्टर राकेश चौधरी, अनामिका हस्पिटल गरुडाका प्रमुख डा. आरबी प्रसाद, नेपाल पत्रकार महासंघ रौतहटका अध्यक्ष रवीन्द्र साहलगयतले आ-आफ्ना मन्तव्य राखेका थिए ।
सम्मेलन ट्रेड युनियन संघ रौतहटको नयाँ पदाधिकारीहरु चयन गर्दै सम्पन्न भएको छ ।