वीरगञ्ज ५ असोज । पर्सामा विगत केहि दिनदेखि घट-बढ भइरहेको कोरोना संक्रमित थपिने संख्या फेरी एक पटक घटेको छ । पर्सामा सोमबार जम्मा एक जना संक्रमित थपिएका छन् ।
नारायणी अस्पतालको प्रयोशालामा पर्साको विभिन्न स्थानबाट ल्याइएको १ सय ७७ जनाको स्वाबको नमुनालाई पिसिआर प्रविधि मार्फत परिक्षण गर्दा जिल्लाका जम्मा एक जना ३८ वर्षीय पुरुषमा संक्रमण पुष्टि भएको हो । परिक्षणमा थप ३ जनामा कोरोना देखिएपनि उनीहरु पर्सा जिल्लाका बासिन्दा होइनन ।
नारायण अस्पतालले उपलब्ध गराएको विवरण अनुसार पर्सामा थपिएका संक्रमित मध्ये दुई जना भारतीय रहेका छन् भने एक जना सर्लाही जिल्लाका बासिन्दा हुन् ।
अस्पतालमा कुल १ सय ९२ जनाको स्वाबको नमुनालाई परिक्षण गरिएको अस्पतालका प्रवक्ता एवं वरिष्ठ चर्म रोग विशेषज्ञ डाक्टर अतुलेशकुमार चौरसियाले जानकारी दिए ।
उनले बाकीका १५ जनाको स्वाब बारा जिल्लाबाट आएको बताए । बाराबाट आएको स्वाबलाई परिक्षण गर्दापनि एक जना संक्रमित थपिएको उनले जानकारी दिए ।
सोमबार संक्रमण पुष्टि भएका सबै संक्रमित ३८ वर्षदेखि ५९ वर्षसम्मका पुरुष रहेका छन् । उनीहरुको सिटि भ्यालु १८ देखि ३२ सम्म रहेको डाक्टर चौरसियाले बताए ।
योसँगै पर्सामा हालसम्म २ हजार ५ सय ६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जसमध्ये १ हजार ९ सय ९६ जना संक्रमणमुक्त भएको जिल्ला प्रशासन कार्यालय पर्साले जनाएको छ ।
त्यसैगरी पछिल्लो समय संक्रमितहरु धमाधम डिस्चार्ज हुनथालेपछि जिल्लमा हाल सक्रिय संक्रमीतको संख्यापनि घटेको छ । यहाँ हाल ३२ जना संक्रमित विभिन्न हस्पिटल आइसोलेशनमा रहेका छन् भने १३ जना होम आइसोलेशनमा रहेका छन् । त्यसैगरी विभिन्न स्थानमा व्यवस्था गरिएको सामुदायिक आइसोलेशनमा पनि ५२ जना संक्रमितहरु रहेको प्रशासन कार्यालयको तथ्यांकले देखाएको छ ।
संक्रमणका कारण हालसम्म जिल्लामा ४४ जनाको मृत्यु भएको छ ।