वीरगञ्ज ४ असोज । वीरगञ्जमा चार जना कोरोना संक्रमितले एकै दिन ज्यान गुमाएका छन । वीरगञ्जस्थित नेशनल मेडिक कलेजद्वारा सञ्चालित बाबा इन्टरनेशनल होटल अस्थायी कोभिड अस्पताल र नारायणी अस्पतालमा उपचाररत चार जना कोरोना संक्रमितको मृत्यु भएको हो ।
मृत्यु हुनेमा दुई जना पर्सा, एक जना बारा र एक जना रौतहटक बासिन्दा रहेका छन् । पर्सामा मृत्यु भएका दुवै जना वीरगञ्ज महानगरपालिका वडा नं. ४ विर्ता र वडा नं. ६ रेशमकोठीका रहेका छन् ।
व्रिता बस्ने ७८ वर्षीय पुरुषको शनिबार अपरान्ह ४ बजे मृत्यु भएको थियो । भदौं ३१ गते कोभिड पोजेटिभ भइ नेशनल मेडिक कलेजद्वारा सञ्चालित बाबा इन्टरनेशनल होटल अस्थायी कोभिड अस्पतालमा उपचार गराइरहेका उनमा श्वाशप्रश्वासमा समयसा रहेको जिल्ला जनस्वास्थ्य कार्यालयका स्वास्थ्य निरीक्षक जयमोद ठाकुरले बताए ।
त्यसैगरी रेशमकोठी बस्ने ८८ वर्षीय वृद्धको नारायण अस्पतालमा मृत्यु भएको हो । उनको आइतबार बिहान १ बजे अस्पतालमा उपचारको क्रममा मृत्यु भएको थियो । दमाका दिर्घ रोगि उनलाई श्वाशप्रश्वासमा समस्या भएपनि असोज २ गते नारायणी अस्पताल भर्ना गरिएको थियो । उनको मृत्यु पश्चात स्वाब संकलन गरेर पिसिआर प्रविधि मार्फत कोरोना परिक्षण गर्दा नतिजा पोजेटिभ आएको ठाकुरले जानकारी दिए ।
त्यस्तै बारा जिल्लाको कलैया उपमहानगरपालिका वडा नं १३ बलिरामपुर बस्ने ६५ वर्षीय पुरुष र रौतहटको गौरका ६१ वर्षीय पुरुषको उपचारका क्रममा आइतबार बिहान नेशनल मेडिक कलेजद्वारा सञ्चालित बाबा इन्टरनेशनल होटल अस्थायी कोभिड अस्पतालमा मृत्यु भएको छ ।
कलैयाका पुरुषको बिहान ५ बजे र रौतहटका पुरुषको साढे ७ बजे उपचारकै क्रममा मृत्यु भएको ठाकुरले बताए ।
कलैयाका व्यक्ति प्यारालाइसिसका बिरामी थिए । उनको मिर्गौलामा समेत समस्या देखिएपछि उपचारका लागि असोज १ गते नेशनल मेडिक कलेजमा भर्ना गरिएको थियो । भर्ना पश्चात कोरोनासँग मिल्दो जुल्दो लक्षण देखिएपछि उनको स्वाब परिक्षण गर्दा नतिजा पोजेटिभ आएको थियो ।
गौरको पुरुषमा उच्च रक्तचाप, मधुमेह र मुटु सम्बन्धी समस्या थियो । असोज १ गते नै अस्पतालमा भर्ना भएका उनको सोही दिन पीसीआर परीक्षण रिपोर्ट पोजेटिभ आएको थियो । उनकोपनि बारा होटल अस्थायी कोभिड अस्पतालमा मृत्यु भएको ठाकुरले बताए ।