वीरगञ्ज ३ असोज । प्रदेश नं. २ का भौतिक पूर्वाधार विकासमन्त्री जितेन्द्र सोनलले रगतले लेखिएको संविधानलाई स्वीकार नगर्न सकिने बताएका छन् । मन्त्री सोनलले बहुमतको दम्भ देखाएर जारी गरिएको संविधानलाई मधेसी जनताले स्वीकार नगर्न सक्ने बताएका हुन् ।
मधेसी शहिदहरुको सम्झनामा शनिबार जनकपुरमा आयोजित एक समारोहलाई सम्बोधन गर्दै मन्त्री सोनलले वर्तमान संविधानले हरेक वर्ग र समुदायको अधिकार समेट्न नसकेकाले यसलाई स्वीकार गर्न नसकिने बताए । उनले भने, ‘यो संविधान रगतले लेखिएको छ, यो खुनी संविधान हो । नश्लीय संविधान हो ।’
उनले वर्तमान संविधानको विरोधमा सबैलाई मिलेर आवाज उठाउँनु पर्ने धारणा समेत राखेका थिए । 'मधेसी, जनजाती, आदिवासी, मुस्लिम, महिलालगायतका राज्यबाट उपेक्षित समुदायको अधिकार वर्तमान संविधानले ग्यारेण्टी गर्न सकेको छैन । संविधान संशोधन नगरेसम्म हाम्रोलागि असोज ३ गते कालो दिन नै रहने छ ।
कार्यक्रम पश्चात मन्त्री सोनलले शहिदको तस्विरमा फुल अबिर अर्पण र दिप प्रज्जवलनगरी आपत कालिन नि:शुल्क स्वास्थ अभियानमा सहयोग गर्नु भएको सहयोगी हाथहरुको सम्मान तथा धन्यवाद ज्ञापन गरे ।
यता जपसाको केन्द्रिय पदाधिकारी बैठकको निर्णय बमोजिम जसपा बाराले आज कलैयामा संविधान अपूर्ण रहेको भन्दै विरोध कार्यक्रमपनि गरेको छ ।
बाराको सदरमुकाम कलैयामा जनता समाजवादी पार्टी बाराले आज दिउँसो २ः३० बजे विरोध र्याली निकालेको थियो । कलैयाको जानकी मन्दिरबाट निस्केको विरोध र्याली कलैया बजारको विभिन्न भागको परिक्रमा गरी कलैयाको भरत चौकमा आएर विरोध सभामा परिणत भएको थिया ।
मधेसी मात्र नभएर नेता बाबुराम भट्टराई राजेन्द्र श्रेष्ठ लगायतले पनि उत्पीडित जनताको पक्षमा आवाज उठाइरहेको भन्दै उनले भने, ‘विगतमा यहाँ आन्दोलन गर्थे । तर अब काठमाडौं र पोखरीलगायतका ठाउँमा पनि संविधानको विरोधमा आन्दोलन हुन्छ । यो ठूलो उपलब्धी हो ।’