वीरगञ्ज ३ असोज । संविधान जारी भएको दिन प्रहरीको गोलिबाट ज्यान गुमाएका सत्रुधन पटेलको पाँचौं स्मृतिमा आज एउटा कार्यक्रमको आयोजना गरिएको छ ।
जनता समाजवादी पार्टीले नेपालको संविधान २०७२ जारी भएको दिन वीरगञ्जमा भइरहेको मधेस आन्दोलनको क्रममा प्रहरीको गोली लागेर ज्यान गुमाएका पटेलको स्मृतिमा उनको जन्मस्थान पकाहमैनपुर गाउँपालिकामा कार्यक्रम आयोजना गरेको हो । उनले ज्यान गुमाएको आज पाँच वर्ष पुगेको छ ।
संविधान सभा मार्फत संविधान घोषणा भएको दिनलाई कालो दिनको रुपमा बताउँदै मधेस केन्द्रित दलहरुको अह्वानमा वीरगञ्ज निकालेको बिरोध र्यालीमा प्रहरी र प्रदर्शनकारीहरु विच झडप भए पछि वीरगञ्जको माइस्थान चौकमा प्रहरीको गोली लागेर पटेलको निधन भएको थियो ।
पटेलको जन्म पकहामैनपूर चौकमा रहेको उनको शालिकमा जनता समाजवादीका नेताहरुले माल्यअर्पण गर्नको साथै श्रद्धाञ्जली सभाको आयोजना गरेका थिए । नेताहरुले पटेललाई श्रद्धाञ्जली अर्पण गर्दै अहिले पनि सहिदको सपना पुरा नभएको बताएका छन् ।
श्रद्धाञ्जली सभालाई सम्बोधन गर्दै प्रमुख अथिती सांसद् लक्ष्मणलाल कर्णले मधेसी जनताले अधिकार प्राप्त नगरेसम्म संविधान मान्य नहुने बताए । उनले मधेस अन्दोलनको क्रममा सयौँले सहादत प्राप्त गरेको भन्दै हक अधिकार प्राप्तीको लागि अहिले पनि हजारौँ जनताले आफ्नो ज्यानको आहुति दिन तयार रहेको बताए।
कार्यक्रममा बोल्दै विशिष्ठ अथिति एवम् सांसद् हरिनारायण रौनियारले मधेसको सपनालाई पूरा गराउन अर्को आन्दोलन आवश्यक रहेको बताए । उनले मधेसी जनतालाई अहिलेपनि नेपालमा गैर नेपाली जस्ता व्यवहार हुने बताउँदै दु:ख व्यक्त गरे । उनले मधेसी दलको कमजोरीकै कारण शहिदहरुको सपना पूरा हुनमा ढिलाई हुँदै गएको बताए ।
सांसद् रौनियारले भने, 'मधेसी जनता नेपालको भुमी पुत्र हुन्, नेपाल देशको स्थापना भएको हजारौँ वर्षदेखि यहाँ मधेसी जनता बसोबास गरिरहेका छन्, हामीहरुलाई गैर नेपाली जस्तो व्यवहारगरु दुर्भाग्यपूर्ण छ ।'
सभामा प्रहलाद गिरी, करिमा वेगम, शिव पटेल. राजेशमान सिह, शंशी कपुर मियाँ, विजय सरावगीलगायतकाले मन्तव्य राखेका थिए ।