वीरगञ्ज ३ असोज । सरकारले संबिधान दिवसको अवसरमा बीरगंजमा बिभिन्न क्षेत्रमा रहेर महत्वपूर्ण भूमिका निर्वाह गर्नु भएका ब्यक्तिहरुलाई बिभुषित गर्ने निर्णय गरेको छ ।
पर्सामा प्रवल जनसेवा श्री तृतीयबाट नारायणी अस्पताल बीरगन्जका तत्कालिन मेडिकल सुपरिटेन्डेन्ट डा. मदन कुमार उपाध्याय विभुषित भएका छन् । त्यसैगरी, प्रवल जनसेवा श्री चतुर्थबाट जिल्ला प्रहरी कार्यालय पर्साकी प्रहरी उपरिक्षक गंगा पन्त, नेपाली सेनाको चण्डी प्रसाद गण श्रीपुरका तत्कालिन कर्णेल श्रीजन बहादुर मल्ल, तत्कालिन सहायक प्रमुख जिल्ला अधिकारी ललित बहादुर बस्नेत, बीरगन्ज कारागारका तत्कालिन प्रमुख श्रवण कुमार पोखरेल र बीरगन्जका वरिष्ठ उद्योगपति हिरालाल केडिया विभुषित भएका छन् ।
त्यसैगरी, जनसेवा श्री पञ्चमबाट ग्रिन सिटी सामुदायिक सेवा केन्द्र आदर्शनगरका अध्यक्ष जयप्रकाश खेतान, पत्रकार महासंघ प्रदेश नम्बर २ का उपाध्यक्ष के.सि लामिछाने र नारायणी अस्पतालकी स्टाफ नर्स सुमित्रा चौधरी विभुषित भएका छन् ।
राष्ट्रको गौरव बढाउन, उन्नति र कीर्तिमानी राख्न विभिन्न क्षेत्रबाट महत्वपूर्ण योगदान पुयाउनेहरुलाई सरकारले संविधान दिवसमा सम्मान गर्दै आएको छ । यस वर्ष सरकारले ५९४ जनाको नामावली सम्मानित हुनेहरुको सूचीमा राखेको छ ।
गृहमन्त्रालयले सार्वजनिक गरेको सूचीअनुसार ४५३ जनालाई मानपदवी, ११४ जनालाई अलंकार र २७ जनालाई पदकबाट सम्मान गरिने छ । विभूषण, अलंकार र पदक आगामी संविधान दिवसको दिन राष्ट्रपति विद्यादेवी भण्डारीबाट वितरण हुने छ ।