वीरगञ्ज २७ भदौं । कोरोना संक्रमितहरुको हौसला बढाउन र होम आइशोलेसनमा बसेकाहरुलाई घरघरमै पुगेर आवश्यक परामर्श दिन कोभिड वारियर्स समूह गठन भएको छ।
संक्रमणबाट बाहिरिसकेकाहरुले आफूजस्तै संक्रमित भएका बेला आवश्य परामर्श र मनोसामाजिक दुर्व्यवहार खेप्न नपरोस भनेर कोभिड वारियर्स समूह गठन गरेका हुन् ।
संचारकर्मी नवराज फुयाँलको संयोजकत्वमा गठन भएको कोभिड वारियर्सको सदस्यमा स्वास्थ्यकर्मी नितु चौधरी, रश्मि थापा बस्नेत, संचारकर्मी हेमन्त तामाङ, अनुप यादब, अमन श्रेष्ठ लगायत रहेका छन् ।
विशेष गरि होम आइशोलेशनमा बसेका संक्रमितहरुलाई घरघरमै पुगेर स्वास्थ्य परामर्शका साथै उनीहरुका समस्याका विषयमा वारियर्सले काम गर्ने संयोजक फुयाँलले बताउनु भयो ।
संक्रमितलाई टोल समाजले अहिले पनि हेयको दृष्टिले हेर्ने गरेकाले संक्रमित झनै हतोत्साहित हुने हुँदा सामाजिक चेतना अभिवृद्धि गर्न पनि अभियानले काम गर्ने उनले बताए ।
यस्तै कुनै संक्रमितको प्लाज्मा थेरापि मार्फत उपचार गर्नुपर्ने अवस्था आए प्लाज्मा उपलब्ध गराउन अभियानले आवश्यक समन्वय गर्ने वारियर्सका हेमन्त तामाङले जानकारी दिए ।
रेडियो तथा सामाजिक संजालमार्फत पनि कोभिड संक्रमितलाई माया र हौसला प्रदान गर्न सबैलाई आग्रह गर्ने खालका सामाग्री प्रचार प्रसार गर्ने अभियानको उद्देश्य रहेको तामाङले बताए ।
कोभिड वारियर्सको सल्लाहकारमा वीरगंज महानगरपालिकाका नगर प्रमुख बिजयकुमार सरावगी, पर्साका प्रमुख जिल्ला अधिकारी अस्मान तामाङ, जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी उपरीक्षक गंगा पन्त, शसस्त्र प्रहरी उपरीक्षक राजेन्द्र खड्का, नेपाली सेनाका गणपति मदनजंग राणा रहनु भएको छ ।
कोभिड संक्रमण जितेका जो कोही पनि यो अभियानमा संलग्न हुन सक्ने संयोजक फुयाँलले बताए ।
कोभिड जितेर आएकाले संक्रमितलाई घरघरमै पुगेर परामर्श दिने तथा प्लाज्मा सहयोग गर्न सुरु गर्न लागिएको यो अभियान नेपालमै पहिलो हो ।