वीरगञ्ज – वीरगञ्ज बजार आंशिक रुपमा खुलेसँगै गएको ३९ दिनदेखि निशुल्क खाना वितरण गर्दै आइरहेको साहिब दरबार सेवा संस्थानले आजबाट भने निशुल्क खाना वितरण बन्द गरेको छ ।
बजार चलायमान हुन लागेको र दैनिक ज्याला गरी जीविकोपार्जन गर्ने समूहले पनि कमाई गर्न लागेकाले निशुल्क खाना वितरण गर्ने काम अहिलेलाई स्थगित गरिएको संस्थानका महासचिव उमेशलाल सहनीले जानकारी दिए ।
वैश्विक महामारी कोभिड १९ का कारण लक डाउन र निषेधाज्ञाका कारण बजार, कलकारखाना, यातायात लगायत सबै क्षेत्र ठप्प हुँदा दैनिक ज्यालादारी गरी खाने वर्ग तथा बेसहारा निमुखाहरु भोकै बस्न बाध्य हुन परेको थियो ।
त्यसैलाई मध्यनजर गर्दै साहिब दरबार सेवा संस्थान, समर्पण सेवा संस्था र स्टार सेरामिक्स प्रा.लि.ले संयुक्त रुपमा निशुल्क भोजनको सुरुवात गरेका थिए ।
अहिले स्थानीय प्रशासनले निषेधाज्ञा खुकुलो पार्दै बजार, व्यवसाय संचालन गर्न दिएसँगै मानिसहरु दैनिक कार्यमा फर्किएकाले निशुल्क भोजन वितरण स्थगित गरिएको सहनीले बताए ।
संक्रमण रोक्न फेरि बजार बन्द गर्नु पर्ने अवस्था आएर बजार बन्द गरिए त्यसबेला फेरि संस्थानले निशुल्क भोजनलाई निरन्तरता दिने पनि उनले बताए ।
यसअघि सुरुवाती समयमा पनि संस्थानले ९० दिनसम्म विरगञ्जमा निशुल्क खाना वितरण गरेको थियो ।