×

वीरगञ्ज २७ भदौं । पर्साका प्रमुख जिल्ला अधिकारी र कोभिड संक्रमण जितेर आएकाहरुसहितको टोलीले कोभिड संक्रमितको घरघरमै पुगेर आवश्यक परामर्श दिन सुरु गरेको छ ।

होम आइशोलेशनमा बसेका संक्रमितको घरघरमै पुगेर उनीहरुलाई हौसला बढाउनुका साथै वरपरका छिमेकीलाई पनि संक्रमितलाई सहयोग गर्न टोलीले आग्रह गर्दै हिडेको हो ।

शनिबार वीरगञ्ज महानगरपालिका वडा नम्बर १६ नगवाका संक्रमितको घरैमा पुगेर अभियानको सुरुवात गरिएको छ ।

संक्रमित भएर होम आइशोलेशनमा बसेकाहरुको समस्या तथा आसपासका छिमेकीहरुलेहरु गर्ने व्यवहारका विषयमा पनि टोलीले जानकारी लिएको छ ।

कोभिड संक्रमितलाई समाजमा पुर्नःस्थापना गर्न चुनौति देखिएको र लक्षण नदेखिएकाहरुलाई पनि होम आइशोलेशनमै बस्न असहज भइरहेको अवस्थामा उनीहरुलाई सहज बनाउन टोलीले पहल थालेको हो ।

कोभिड संक्रमितलाई समाजले हेर्ने दृृष्टिकोणमा परिवर्तन ल्याउन संक्रमितको घर वरपरका छिमेकीलाई पनि टोलीले सचेत गराएको छ ।

कोभिड संक्रमणबाट मुक्त भएकाहरुले स्थापना गरेको कोभिड वारियर्स नामक संस्थाको पहलमा संक्रमितहरुको घरघरमै पुगेर उनीहरुलाई हौसला बढाउने अभियान सुरु भएको हो ।

कोभिड वारियर्सले संक्रमितहरुलाई हौसला बढाउनुका साथै टोलछिमेकमा कोभिड संक्रमितलाई हेर्ने दृष्टिकोण बदल्न सचेतना फैलाउने काम गर्ने छ ।

कोभिड वारियर्सका संयोजक नवराज फुयाँलको अध्यक्षतामा सुरु भएको अभियानको पहिलो दिन आज पर्साका प्रमुख जिल्ला अधिकारी अस्मान तामाङ, शसस्त्र प्रहरी पर्साका प्रमुख राजेन्द्र खड्का, नेपाली सेना चण्डीप्रसाद गण वीरगंका गणपती मदनजंग राणा, जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी नायव उपरीक्षक मनोज कुवँर, जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्साका प्रमुख कमलप्रसाद पंडित लगायतको सहभागिता रहेको थियो ।

Back to top