वीरगञ्ज २४ भदौं । सशस्त्र प्रहरी बल विओपी अमरपट्टीले अबैध रुपमा भारततर्फ लैजाँदै गरेको मटर बरामद गरेको छ ।
प्रहरीले सोमबार राति साढे ९ बजे तिर बारा जिल्लाको त्रिवेणी दाल एण्ड आयल ईन्डष्ट्रिज प्रालि छातापिपराबाट वीरगञ्ज महानगरपालिका वडा नम्बर १९ बर्वागोगको नाकाबाट अबैध रुपमा भारततर्फ निकासी गर्न लागिएको २५ सय किलो मटरसहित गाडि बरामद गरेको हो ।
सशस्त्र प्रहरी बल विओपी अमरपट्टीबाट खटेको प्रहरीले नियमित चेकजाँच गर्दा बा १४ च २९१६ नम्बरको पिकअप भ्यानमा २५ किलोको दरले १०० बोरा मटर सोमवार राती बरामद गरेको बिओपी अमरपट्टीका सशस्त्र प्रहरी निरिक्षक निरञ्जन कार्कीले जानकारी दिए । गाडी पक्राउ गरिएपनि चालक भने फरार भएको छ ।
पक्राउ गरिएको मटर विन्दवासिनीको सचिन किराना पसलमा लग्नु पर्नेमा भारतको नाकातर्फ लग्दै गरेको अवस्थामा पक्राउ गरी मंगलबार वीरगञ्ज भन्सार कार्यालयमा बुझाईएको प्रहरी निरिक्षक कार्कीले बताए ।
प्रहरीलाई देख्नसाथ पिकअप भ्यानका चाकल गाडि छोडी भागेको र बरामद गरिएको मटरको मुल्य ५ लाख ८७ हजार ५ सय बराबरको रहेको समेत कार्कीले जानकारी दिए ।