×

० प्रदेश २ मा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण तीव्र गतिमा फैलिरहेको छ, नियन्त्रण तथा रोकथाममा प्रदेश सरकार वा स्थानीय तह किन सकिरहेको छैन ?

— यो बहुत विडम्बना छ । प्रदेश २ मा स्थानीय तहको अवस्था पनि त्यस्तै छ । सुरुवाती अवस्थामा स्थानीय तहले पनि राहत वितरण गर्न, क्वारेन्टाइन बनाउन होडबाजी नै गरे । तर क्वारेन्टाइनको व्यवस्थापन पनि गर्न सकेन, राहत वितरणमा पनि पक्षपात गरे । वास्तविकरुपमा राहत वितरण गर्ने आवश्यकता अहिले छ । तर अहिले स्थानीय सरकार र प्रदेश २ को सरकार पनि मौन छ । प्रदेश २ को कमाण्डर हाम्रो मुख्यमन्त्रीज्यू हुनुहुन्छ, उहाँ कहिले नारायणी अस्पताललाई १०–२० लाख दिनुहुन्छ त कहिले विपद व्यवस्थापन समितिमा २५–५० लाख रुपैयाँ दिनुहुन्छ अनि आफ्नो दायित्व पूरा भएको बुझ्नुहुन्छ । तर त्यसको व्यवस्थापन कसरी हुन्छ, त्यो पक्षमा ध्यान दिनु हुन्न । केही पहिला अस्पतालको ढोकाबाट विरामी फर्केका थिए र पछि उसको मृत्यु भएको थियो । त्यसबाट जनतामा एकदम त्रास पैदा भयो, जनता आक्रोशमा आएर नारायणी अस्पतालमा तोडफोड पनि गरे, प्रशासनले मुद्दा पनि दर्ता ग¥यो । अब यहाँ कोही माईबाप छैन । हाम्रो वीरगन्जका मेयर सापले दौडधुप गर्नुभयो । कोरोना नियन्त्रण गर्नका लागि उहाँ बिहानदेखि बेलुकासम्म जति सक्नुभो त्यति गर्नुभयो तर पछि उहाँ आफै संक्रमित हुनुभयो । उहाँ उपचार गराएर अलिकति सन्चो भएर आएपछि काम सुरुवात गरिरहँदा उहाँको पिताजीको निधन भयो । त्यसैले यहाँ अहिले विकराल अवस्था छ ।

० तर प्रदेशका मुख्यमन्त्रीले कोरोना नियन्त्रणमा कुनै कमी कमजोरी हुन नदिने दाबी गर्दै आउनुभएको छ नि ?

— भाषण त जसले पनि गरिरहेका छन् । सिंहदरबारमा बसेर सम्माननीय प्रधानमन्त्रीले पनि कोरोना नियन्त्रणका लागि लाग्नुभएको छ । भाषण गर्नु र काम गर्नुमा फरक छ । त्यसको अनुभूति त जनताले गर्न पाउनुप¥यो नि । मिडियाबाजी मात्रै गरेर हुन्छ ? केही दिन पहिला हामीले मुख्यमन्त्रीजीलाई सल्लाह दिएका थियौं कि वीरगन्ज नेपालकै प्रमुख ट्रान्जिट प्वाइन्छ हो । यहाँ जति कडाइ गरेपनि मान्छेहरु आवतजावत गर्छ नै, त्यहींअनुरुप लाग्नुप¥यो भनेका थियौं । मैले सुरुवाती अवस्थामै मुख्यमन्त्रीजीलाई भनेको थिएँ कि केही पैसा निकासा गर्नुस् र कमसेकम दुईटा कोरोना अस्पताल बनाउनुस् । किनभने नारायणी अस्पताल गरीब तथा आमजनताहरुको उपचार गर्ने ठाउँ हो । अनि उहाँले भन्नुभयो कि यहाँ धेरै अस्पताल छन् । पछि आखिर त्यसको आवश्यकता महसुस भएकै हो । अहिले वीरगन्जमा कोरोनाको विरामीलाई राख्ने ठाउँ छैन ।

० तर, मुख्यमन्त्रीले संघीय सरकारको असहयोगका कारण कोरोना रोकथाम गर्न सकिरहेको छैन भन्ने गुनासो गर्नु हुन्छ नि ?

— वास्तवमा संघीय सरकारले केही गरेकै छैन । प्रदेश सरकारले पनि नारायणी अस्पताल र विपद व्यवस्थापन समितिमा केही पैसा दिएर झारा टार्ने काम गरिरहेको छ । उहाँले दिनकै गोष्ठी, सेमिनार र नाराबाजी गरेर आफ्नो दायित्व पूरा गरेको ठान्नु हुन्छ, कोभिड नियन्त्रणमा प्रादेशिक सरकारले पनि केही गरेको छैन । अलि–अलि देखावटीरुपमा केही बजेट दिइरहेको छ । तर, व्यवस्थित ढंगले कसरी रोकथाम तथा नियन्त्रण गर्ने भन्ने देखिएको छैन । त्यसका लागि संयन्त्रहरु निर्माण गर्नुप¥यो नि । जिल्ला समन्वय समितिहरु छन्, त्यत्रो म्यानपावर छन्, हाम्रो सांसदहरुको भूमिका के रहन्छ ? हाम्रा सांसदहरुको भूमिकालाई यो प्रदेश २ को सरकारले पूरै न्यून गरेर पंगु बनाएर राखेको छ । हामी छटपटाएर बसिरहेका छन् । हामीलाई पनि भूमिका देउ, कोभिडविरुद्ध लड्न भूमिका देओस् । तर मुख्यमन्त्रीले सबै सांसदहरुलाई क्वारेन्टाइन गरिदिएका छन् । हामी छटपटिएर बसिरहेका छौं ।

० कोरोनासँग लड्न प्रदेश सरकारसँग स्रोतसाधन छैन कि ?

— प्रदेश सरकारसँग स्रोतसाधन प्रशस्त मात्रामा छन् तर भिजन र सोच छैन । स्थानीय सरकारहरुले राहत वितरणको नाममा व्यापक घुसखोरी र अनियमितता गरे । त्यहींअनुसार प्रदेश सरकारले पनि त्यहीं गरिरहेको छ । यदि भिजन भएको भए प्रदेश २ मा कोरोनालाई नियन्त्रण गरेर जनतालाई सेवा दिन सक्थ्यो ।

० प्रदेश सरकारले कोरोना रोकथाम तथा नियन्त्रणका लागि यस आवमा दुई अर्बभन्दा रुपैयाँ छुट्याएको छ, ती पैसाहरु कहाँ गइरहेका छन् ?

— बजेट मात्रै छुट्याएर हुँदैन नि । ती पैसाहरु सिडियो, अस्पताल र स्थानीय निकायलाई दुई चार करोड पठाइदिने, त्यो पैसा कहाँ खर्च भइरहेको छ, त्यसको कुनै किसिमको निगरानी नगर्ने भनेपछि त्यो रकमको सदुपयोग हुन्छ त ?

० यो कोरोना नियन्त्रण तथा रोकथाममा प्रदेश २ को सरकार असफल भइसकेको हो ?

— प्रदेश २ को सरकार कोरोना नियन्त्रण तथा रोकथाम गर्न पूरा असफल भइसकेको छ । आन्दोलनको गर्भबाट जन्मेको यो सरकार जनताको भावनाअनुसार जुन ढंगले आउनुपर्ने हो, त्यो ढंगले आएको छैन र आउन पनि सक्दैन ।

० आफ्नो पार्टीको प्रदेश सरकारले राम्ररी काम गर्न सकेको छैन भन्ने कुराप्रति पार्टी नेतृत्वपंक्तिको ध्यान किन पुगेन ?

— हामी सांसदहरुले पटक–पटक मुख्यमन्त्री र मन्त्रीहरुलाई सल्लाह सुझाव दिँदै आएका छौं । तर मुख्मन्त्री र मन्त्रीहरुले अटेर गरेर बसिरहेका छन् । उहाँहरु आफ्नो सोच र भावनाअनुसार काम गरिरहनुभएको छ, जनताको भावनासँग मतलब छैन । अर्को कुरा, हाम्रै पार्टीका करिब १५–१६ जना सांसदहरु काठमाडौं गएर पार्टी नेतृत्वपंक्तिहरुलाई प्रदेश सरकारको गतिविधि र अवस्थाको बारेमा जानकारी दिएका छौं । प्रदेश २ मा सरकार परिवर्तन गर्नुपर्छ भनेर भनिसकेका छौं । यदि परिवर्तन भएन भने आगामी चुनावमा पार्टीले धेरै नै क्षति व्यहोर्नुपर्छ । अझ पनि यो सरकारको कार्यकालको आधा समय बाँकी छ । यी सबैलाई हटाएर नयाँ व्यक्तिहरुलाई मौका दिनुपर्छ । नेतृत्वपंक्तिबाट पनि हामीलाई आश्वासन दिइएको छ कि प्रदेश सरकार परिवर्तन हुन्छ । हेर्दै जाऔं ।

० तपाइँहरुले केन्द्रीय नेतृत्वलाई प्रदेश २ को सरकार परिवर्तनका लागि डेलिगेशन दिनुभएको थियो, के आश्वासन पाउनुभयो ?

— हामी १५–१६ जना प्रदेश सांसदहरुले केन्द्रीय नेतृत्वहरुलाई सामूहिक र व्यक्तिगतरुपमा भेटेर प्रदेश २ सरकारको वस्तुस्थितिबारे जानकारी गराएका थियौं । अब नेतृत्ववर्गले के सोच बनाउँछ त्यो हेर्न बाँकी छ । हामीले नेतृत्वपंक्तिले आश्वासन दिनुभएको छ कि सरकार परिवर्तन हुन्छ । त्यसैलाई हामीले पर्खेर बसिरहेका छौं । अहिले पार्टी समायोजनको प्रक्रियामा छ र कोरोना महामारी पनि छ । त्यसले गर्दा पनि अलिकति ढिलो भइरहेको छ । प्रदेश २ मा पहिला जनता समाजवादी पार्टी त बन्नुप¥यो नि, त्यसपछि जसपाको सरकार बन्छ ।

० प्रदेश २ को मन्त्रिमण्डल नै परिवर्तन गर्नुपर्ने हो कि केही पात्रहरु मात्रै ?

— पूरै टिमलाई नै परिवर्तन गर्ने पक्षमा हामी छौं । नेतृत्वले नयाँ टिम र अनुहार मौका दिनुप¥यो । यिनीहरुलाई हटाइएन भने अहंकार आउँछ । फेरिने डरले पनि आगामी अनुहारहरुले जनताको आकांक्षाअनुसार काम गर्छ । अहिलेकै पात्रहरुलाई निरन्तरता दिने अवस्था छैन ।

० अहिलेकै टिमलाई परिवर्तन गरिएन भने ?

— अहिलेको टिमलाई परिवर्तन गरिएन भने आठ वटा जिल्लामा सीमित भएको हाम्रो पार्टी झन् खुम्चिने छ । मन्त्रीहरुले आफ्ना क्षेत्रमा करोडौं करोडको बजेट लगिरहेका छन् । हामी सत्तारुढ दलको सांसद भएपनि संसदीय कोषबाहेक पाँच पैसाको बजेट गएको छैन । यसरी सरकार चल्छ ? यसरी पार्टी स्थापित हुन्छ त ? प्रदेशका मन्त्रीहरु आफ्नो क्षेत्रभन्दा पनि आफ्नो टोलमा सीमित छन् र अधिकांश मन्त्रीहरु कमिशनखोरीमा लिप्त छन् ।साभार मधेशवाणी बाट

Back to top