×

वीरगञ्ज २२ भदाै । वीरगञ्जका विभिन्न स्थानमा बजार अनुगमनले तिब्रता पाएको छ । वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय, जिल्ला प्रशासन कार्यालय र जिल्ला प्रहरी कार्यालय, पर्साको संयुक्त अनुगमन टोलीले आज पनि बजार अनुगमनलाई तिब्रता दिएको हो ।

यसअघि आइतवार पनि अनुगमन गरी १ लाख १० हजार जरिवाना गराइएकोमा सोमवार ५ वटा पसललाई कारवाही गर्दा ७० हजार जरिवाना तिराएको छ ।

वीरगञ्जको राधेमाई र विन्दवासिनिमा रहेका खाद्यान्न तथा किराना पसलहरुमा अनुगमन गर्दा मूल्य सूची नराखेको तथा खरिद बिल उपलब्ध गराउन नसकेको र म्याद गुज्रेका समानहरु संचित गरी राखेको पाइएपछि ५ पसललाई कारवाही गरिएको हो ।

उपभोक्ता संरक्षण ऐन २०७५ को दफा ३८ बमोजिम वीरगञ्ज महानगरपालिका वडा न. १९ विन्दवासिनिमा रहेको मनिष गल्ला भण्डार एण्ड ट्रेड सप्लायर्सलाई २० हजार, सशी किराना पसललाई २० हजार, सन्दिप किराना तथा गल्ला भण्डारलाई २० हजार, वीरगञ्ज महानगरपालिका वडा न. १३ राधेमाईमा रहेका आसिका जनरल स्टोरलाई ५ हजार र चन्दन ट्रेड इन्टरनेसनललाई ५ हजार जरिवाना तिराईएको जिल्ला प्रशासन कार्यालय पर्साले जनाएको छ ।

त्यसैगरी विभिन्न पसलबाट म्याद गुज्रिएको ८ सय ४० रुपैया बराबरको पेय पदार्थ समेत नष्ट गरिएको छ ।

साथै कँही कतै कालोबजारी गरेको र मनोमानी मुल्यमा बिक्रिवितरण गरेको पाइए आवश्यक प्रमाणसाहित प्रशासनमा उजुरी दिन पनि आग्रह गरिएको छ ।

Back to top