×

वीरगञ्ज २१ भदौं । जिल्ला जनस्वास्थ्य कार्यालयका एक कर्मचारीले नारायणी अस्पतालस्थित पिसिआर प्रयोशालाका कर्मचारीहरुसँग दुव्र्यबहार गरेपछि विरोधमा उत्रेका कर्मचारीहरुले आन्दोलन फिर्ता लिएका छन् ।

आइतबार दिउँसो प्रयोगशालाका इन्चार्ज हिराबाबु पाण्डेलाई जनस्वास्थ्य कार्यालयका ल्याब टेक्निसिएन राजेन्द्र चौरसियाले दुव्र्यबहार गरेपछि ल्याबका कर्मचारीहरुले चौरसियालाई कारबाही तथा प्रयोगशालामा सुरक्षाको प्रत्याभूति माग गर्दै ल्याबको सम्पूर्ण काम ठप्प गरेका थिए ।

ल्याबमा कर्मचारीहरु पीपीई लगाएर काम गरिरहेको अवस्थामा मलेकुलर ल्याबमा चौरसिया छिरेर आफ्नो छोराको पिसिआर रिपोर्ट माग्दै ल्याब इन्चार्ज पाण्डेसँग दुव्र्यबहार गरेका थिए । चौरसिया ल्याबमा छिरेको कारण १७० वटा स्वाब नमूना परीक्षणको काम अवरुद्ध भएको आरोप उनीहरुले लगाएका छन् ।

त्यसमा प्रयोग गरिएको केमिकल र रिएजेन्ट खेर गएको छ । यस्तो अवस्थामा प्रयोगशालामा काम गर्न नसक्ने जानकारी लिखितरुपमा अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा. सञ्जयकुमार ठाकुरलाई समेत जानकारी गराएका थिए ।

तरपछि चौरसियाले आएर सबै कर्मचारीसँग सामुहिक माफी मागेपछि ल्याबका कर्मचारीहरु काममा फर्केका छन् ।

ल्याबका एक कर्मचारी अनुसार चौरसियाले ल्याबका सम्पूर्ण कर्मचारीसँग माफ मागेपछि आफुहरु काममा फरिएको बताए ।

Back to top