×

वीरगञ्ज २१ भदौं । कोरोनाभाइरस महामारीको समयमा पनि कालोबजारी गर्दै उपभोक्ता ठग्ने वीरगञ्जका विभिन्न व्यवसायी र पसले कारवाहीमा परेका छन् ।

वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालयका अधिकृत दिलिप खङखत्वेको नेतृत्वमा आइतबार खटिएको बजार अनुगमन टोलीले ३ वटा पसललाई १ लाख १० हजार रुपैयाँ जरिवाना गरेको हो ।

वीरगञ्जको पानगल्लीस्थित सुमित्रा ट्रेडर्स एन्ड सप्लायर्सलाई ५० हजार तथा पानगल्लीमै रहेको न्यू संतोष जेनरल स्टोर, जय पान पसल सेन्ट र रानीघाटमा रहेको न्यू हरिओम किराना पसललाइ जनही २०/२० हजार रुपैयाँ जरिवाना गरिएको हो ।

जिल्ला प्रशासन कार्यालयका खाद्य निरीक्षक र प्रहरीसहितको अनुगमन टोलीले पानगल्ली र रानीघाटका खाद्यान्न र किराना पसलमा आइतबार अनुगमन गरेको थियो । अनुगमनका क्रममा ती ३ वटा पसलहरुले मूल्य सूची नराखेको, खरिद र बिक्री विल उपलब्ध गराउन नसकेको र म्याद गुज्रेका समान संचित गरी राखेको फेला परेकाले उपभोक्ता संरक्षण ऐन २०७५ को दफा २८ बमोजिमको जरिवाना गरिएको वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालयका अधिकृत दिलिप खङखत्वेले जानकारी दिए ।

आर्थिक जरीवानाका साथै समबन्धित पसलका संचालकलाई खाद्य वस्तुहरुको कालोबाजारी तथा मूल्य वृद्धि नगरी बिक्री वितरण गर्न निर्देशन पनि दिइएको खङखत्वेले बताए । यसअघि भदौ १ गते पनि अनुगमन टोलीले वीरगञ्ज बजारको अनुगमन गरी कालोबाजारी तथा मूल्य वृद्धि गरेर फलफूल बिक्री वितरण गरेको आरोपमा तीनवटा फलफूल पसललाई कारवाही गरी ५० हजार रुपैयाँ जरिवाना गरेको थियो ।

कोरोनाको महामारीमा पसलेहरुले मुल्य वृद्धि गर्नुका साथै म्याद गुज्रिएका सामान बिक्री गरेको गुनासो उपभोक्ताहरुबाट आउन थालेपछि नियमित रुपमा बजार अनुगमन गर्न थालिएको खत्वेले बताए ।

Back to top