वीरगञ्ज २० भदौं । देशभर चैत ११ गतेदेखि लागेको निषेधाज्ञा अवधिमा पर्सामा ४ हजार भन्दापनि बढी सवारीसाधन कारवाहीमा परेका छन् ।
जिल्ला ट्राफिक प्रहरी कार्यालयले उपलब्ध गराएको जानकारी अनुसार निषेधाज्ञा अवधिमा पर्सा जिल्लाका विभिन्न स्थानमा ४ हजार ५ सय ७८ सवारीलाइ कारवाही गरेकाे हाे । कारवाहीबाट प्रहरीले ३३ लाख भन्दाबढी रकम संकलन गरेको छ ।
ट्राफिक प्रहरीले सवारीसाधनहरुलाई कारवाही गरेर ३३ लाख १९ हजार ५ सय राजश्व संकलन गरेको जिल्ला ट्राफिक प्रहरी कार्यालयको तथ्यांकले देखाएको छ ।
पर्साका प्रहरी निरीक्षक कमलराज पण्डित सोहि अवधीमा ४४ वटा दुर्घटनाका घटना समेत भएको जानकारी दिए । दुर्घटनामा परेर पाँच जनाले जान गुमाएका छन् भने ५६ जना घाइते भएका छन् ।
जिल्लामा जारी दोस्रो निषेधाज्ञा अवधिमापनि टन्नै सवारीसाधनहरु कारवाहीमा परेका छन् । ट्राफिक नियम उल्लंघन तथा निषेधाज्ञा तोडेको आरोपमा नियन्त्रणमा लिइएको सवारी साधनहरुलाई छोडन् ट्राफिक प्रहरीले कम्तीमा हजार देखि १५ सय रूपैँया सम्मको जरिवाना गर्ने गरेको छ ।
साविकका बेला ट्राफिक प्रहरी कार्यालयले कम्तीमा प्रति महिना १८ देखि २० लाख सम्म राजश्व उठउँदै आएको थियो ।
पर्सामा लकडाउन तथा निषेधाज्ञाको बेला ट्राफिक चाप एकदमै कम भएको तथा सबै क्षेत्र प्रभावित भएको कारण राजश्व कम उठ्नु स्वभाविक विषय भएकाे निरीक्षक पण्डितले बताए ।
साविकका वेला सवारी चाँप बढी हुने हुँदा नो पार्किङ, नियमित छडके, ट्राफिक नियम उल्लंघनका घटनाहरु बढी हुने हुदा राजश्व बढी उठ्ने गरेको निरिक्षक पण्डितले जानकारी गराएका छन् ।