वीरगञ्ज १९ भदौं । आर्थिक अवस्था कमजोर भएका एवं होम आइसोलेसशनमा बसेका कोरोना संक्रमितको उपचारलाई लक्षित गरी वीरगञ्जका लायन्स क्लबहरूको सक्रियतामा सामुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत गत भदौ ९ गते देखि वीरगञ्जमा ‘लायन्स अक्सिजन बैंक’ को स्थापना गरी शुरू गरिएको निःशुल्क अक्सिजन सेवा आजबाट वीरगञ्जको लिंक रोडमा रहेको भवानी अस्पतालबाट समेत सजिलै उपलब्ध हुने गरी स्थापना गरिएको छ ।
वीरगञ्जका लायन्स क्लबहरूको आर्थिक सहयोगमा शुरू गरिएको निःशुल्क अक्सिजन सेवा यस अघि जिल्ला प्रहरी कार्यालय पर्सा र ग्रीन सिटी सामुदायिक केन्द्र आदर्शनगरमा पनि स्थापना गरिएको लायन्स अक्सिजन बैंकका संयोजक एवं लायन्स क्लबका जोन चेयरपर्सन लायन अनुप अग्रवालले बताउनुभयो ।
होम आइसोलेसनमा बसेकाहरूलाई श्वासप्रश्वासमा समस्या भएको खण्डमा तत्कालै निःशुल्क अक्सिजन सेवा उपलब्ध गराउनका लागि यो सेवा शुरु गरिएको जानकारी अग्रवालले दिनुभयो ।
निःशुल्क अक्सिजन सेवा जिल्ला प्रहरी कार्यालको कोभिड हेल्प डेस्क मार्फत प्रदान गरिने छ र उक्त निःशुल्क सेवा प्राप्त गर्नका लागि सेवा लिनेले आफ्नो वा परिवारका कुनै एक सदस्यको नागरिकता लगायतका परिचय पत्र अनिवार्य रुपमा जम्मा गराउनु पर्ने संयोजक अग्रवालले बताउनुभयो ।
कार्यक्रममा जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्साका प्रमुख प्रहरी निरीक्षक कमलराज पंडित, भवानी अस्पतालका अध्यक्ष सुनिल खेतान, लायन्स क्लबका स्ट्रेटेजिक चिफ लायन राम बिहारी पाण्डे, रिजन चेयरपर्सन लायन रिकेश साह, लायन्स क्लब अफ वीरगञ्जका अध्यक्ष लायन विजय गुप्ता, आदर्शनगरका अध्यक्ष लायन संजय कुमार खेतान, परिवारका अध्यक्ष लायन श्याम गुप्ता, गेटवेका अध्यक्ष लायन विवेक बेरीवाल लगायतको उल्लेख्य सहभागिता रहेको थियो ।