×

वीरगञ्ज १८ भदौं । कोरोना संक्रमित भएर श्वासप्रश्वासमा समस्या देखिएका विरामीका लागि अत्यावाश्यक पर्ने औषधि आभाव हुँदा विरामीहरु समस्यामा परेका छन् ।

पछिल्लो समय कोरोनाभाइरस सङ्क्रमितहरुमा देखिएको श्वासप्रश्वासको समस्यामा समेत उपयोगी देखिएको अस्थालिन रेस्पिरेटरी सोलुसन औषधि बजारमा उपलध नहुँदा स्वास्थ्यकर्मीले समेत औषधि पाएका छैनन् ।

औषधि अभावमा यहाँका विरामीहरु मार्कामा परेको खबर पाएपछि सञ्चारकर्मी अमित अग्रवालले छिमेकी बजार रक्सौलबाट मगाएर अस्पताललाई नि:शुल्क औषधी उपलब्ध गराउँन थालेका छन् ।

जिल्ला जनस्वास्थ्य कार्यालय पर्साका जनस्वास्थ्य निरीक्षक जयमोद ठाकुरले वीरगञ्जमा अस्थालिन रेस्पिरेटरी सोलुसन औषधी नहुँदा श्वासप्रश्वासका विरामी जोखिममा रहेको जानकारी दिएपछि आफूले विरामीको उपचारमा सहजहोस भनेर नि:शुल्क औषधि उपलब्ध गराउने प्रयास गरेको अग्रवालले बताए ।

गएको तीन दिनदेखि अग्रवालले विरामीको उपचारमा सहज होस् भनेर नारायणी अस्थायी कोभिड अस्पताल वीरगञ्ज हेल्थ केयर र नारायणी अस्पताललाई औषधि उपलब्ध गराएका छन् ।

पत्रकार अग्रवालले आफ्नै निजी खर्चमा अहिलेसम्म ४५ पिस अस्थालिन रेस्पिरेटरी सोलुसन औषधि वितरण गरेका हुन् । कुनै पनि श्वासप्रश्वासमा समस्या भएका विरामीलाई आवश्यक भए आगामी दिनमा पनि नि:शुल्क औषधी उपलब्ध गराउन आफूले कुनै कसर बाँकी नराख्ने उनले बताए ।

सबैले आ–आफ्नो ठाउँबाट जिम्मेवारी वहन गर्दै अघि बढिए महामारीसँग लड्न सकिने भएकाले आफूले सकेको सहयोग उपलब्ध गराएको पनि उनले बताए ।

कोरोना सङ्क्रमण बढीरहेको र यो बेला श्वासप्रश्वासका विरामीसमेत बढीरहेको समयमा यस्ता औषधि सुलभ रुपमा प्राप्त गर्न सक्ने वातावरण बनाउनु पर्नेमा स्थानीय प्रशासन पनि चुकिरहेको छ । औषधि पसलेहरु पनि यही बेला यो औषधी नभएको भन्दै महंगोमा बेच्ने दाउ हेरिरहेका छन् ।

सामान्य एक जना व्यक्तिको पहलमा हुन सक्ने काम सम्बन्धित सरोकारवाला पक्षले नगरिदिँदा श्वासप्रश्वासका विरामीहरुले जोखिम लिनुपर्ने स्थिति उत्पन्न भएको थियो ।

Back to top