वीरगञ्ज १७ भदौं । सिन्धुपाल्चाेककाे जुगल गाउँपालिकाका पहिरो पीडितहरुको लागि ठोरी -४ मा गठन भएको राहत संकलन समितिले ६ लाख भन्दा बढी सहयोग रकम जुटाएको छ। जुगल गापा -२ को लिदीमा वितेको श्रावण ३० गते गएको पहिरोमा परेर ज्यान गुमाएका, घाइते र विस्थापन भएका परिवारका लागि राहत रकम संकलन गर्न गठन भएको समितिले रु ६ लाख ३४ हजार ५८८ रकम संकलन गरेको बुधबार एक सार्वजनिक कार्यक्रम मार्फत जानकारी गराइएको हो।
गत भदौ २ गते वडा -४ को घ्याङडाडामा वडाध्यक्ष बई बहादुर तामाङको अध्यक्षतामा बसेको सामाजिक अगुवाहरुको भेलाले पहिरोमा परि घाइते भएका, आफन्त बेपत्ता भएर र मृत्यु भएर शोकमा रहेकाहरुलाई राहत वितरण गर्ने उदेश्यले शिक्षक दल बहादुर स्याङबोको संयोजकत्वमा राहत संकलन कार्यलाई व्यवस्थित र पारदर्शी बनाउन अभियन्ताको रुपमा १३ सदस्यीय समिति गठन गरेको थियो।
समितिले नेपाल तामाङ घेदुङ जिल्ला समन्वय समिति पर्सा तथा नेपाल तामाङ घेदुङ ठोरी गापा कार्यसमितिसंग समन्वय गरेर देश तथा परदेशबाट सहयोग रकम जुटाएको समिति संयोजक शिक्षक स्याङ्बोले जानकारी दिए।
कार्यक्रममा देश तथा परदेशबाट कोरोना संक्रमणको महामारीको बेलामा समेत स्वेच्छिक सहयोग गर्ने सम्पुर्ण सहयोगीहरुलाई धन्यवाद ज्ञापन गरिएको थियो। सहयोग रकम सार्वजनिक गर्न आयोजित कार्यक्रममा बोल्ने वक्ताहरुले लिदीमा गएको पहिरोले पुर्याएको मानवीय र भौतिक क्षतिमा मानवीयता र सामाजिक भावनाले सहयोग गर्ने सबैलाई आभार व्यक्त गरेका थिए।
लिदीमा गएको पहिरोले पुर्याएको क्षतिको अगाडि राहत रकम थोरै भएपनि वास्तविक पीडितको हातमा मानवीयता दर्शाउन सकेको रकम पुर्याउनु एकमात्र उदेश्य रहेको वक्ताहरुको जोड थियो। कार्यक्रममा मन्तव्य व्यक्त गर्दै वडा ४ का वडाध्यक्ष बई बहादुर पाख्रीनले लिदीको पहिरोबाट प्रताडित परिवारलाई सहयोग गर्न भुमिका खेल्ने राहत संकलन समिति तथा समन्वय गर्ने सम्पुर्ण व्यक्ति र सहयोगीहरुलाई धन्यवाद व्यक्त गरेका थिए।
वडाध्यक्ष तामाङले आगामी दिनमा मानवीय कार्यमा सबैको साथ रहन सकोस भन्ने शुभेच्छा व्यक्त गरेका थिए।
कार्यक्रममा ठोरी गापाकी बोर्ड सदस्य कान्छी पाख्रीन थिङ,नेपाल तामाङ घेदुङ जिल्ला समन्वय समिति पर्साका अध्यक्ष निमा लामा , ठोरी कार्य समिति अध्यक्ष धन बहादुर थिङ, श्री मावि विजयवस्तीका प्रधानाध्यापक नारायण लामा लगायतले संक्षिप्त मन्तव्य व्यक्त गर्दै सहयोग गर्ने सम्पुर्ण सहयोगीहरुलाई धन्यवाद व्यक्त गरेका थिए।
राहत संकलन समितिका संयोजक दल बहादुर स्याङ्बोको सभापतित्वमा सम्पन्न कार्यक्रमको सहजीकरण गुणकेशरी साकोसका अध्यक्ष बुद्धलाल पाख्रीनले गरेका थिए। घ्याङडाडामा आयोजित कार्यक्रममा राहत संकलन गर्न गठित समितिका संयोजक स्याङ्बोले सहयोग रकम पहिरोबाट प्रभावित लिदीमा पुगेर हस्तान्तरण गरिने जानकारी दिए।
जुगल गापा -२ मा श्रावणको अन्त्यतिर गएको पहिरोमा परेर ३९ जनाले ज्यान गुमाएका थिए भने २१ घरपरिवारमा पुर्ण रुपमा क्षति पुगेको थियो।