×

वीरगञ्ज १६ भदौं । वीरगञ्जमा एउटा युवाहरुको समुहले लकडाउनका कारम मार्कामा परेका परिवारलाई घर-घरमा पुगेर राहत पुर्‍याउने काम सुरु गरेको छ ।

२०-२१ वर्षका आठदेखि १० जना युवाहरुको यो समुहले आफुलाई "अनेकतामा एकता समुह" भन्छ । समुह कहिँ दर्ता छैन, कुनै ठुलो सङ्घ संस्थाको छाता संगठनपनि होइन । भविष्यको लागि कुनै लोभपनि छैन । बस छ त् एउटा कुरा र त्यो हो, सेवा गर्ने भावना ।

अनेकतामा एकता समुहले पछिल्लो दुई हफ्तादेखि जिल्लाका विभिन्न स्थानमा पुगेर अतिविपन्न, गरिव, दिन दु:खि र दैनिक ज्यालादारी गरेर आफ्नो जीवको पार्जन गर्ने व्यक्तिहरुलाई खाद्यान्नदेखि लिएर मेडिकल सहयोग समेत गरिरहेको छ ।

आफैले बचाएको खाजाको पैसा, टोल छिमेकका साथिभाई र अभिभावकहरुसँग गुहार गरेर मागेको आर्थी सहयोगले उनीहरुले विगत दुई हफ्तादेखि दाल, चामल, नुन, तेल, सोयाबिन, साबुन, चिनीलगायातका सामग्री घर-घरमा पुर्‍याई रहेका छन् ।

समुहको एउटा महत्पूर्ण र दुर्लभ पक्ष के हो भने; उनीहरुले राहत बाँडिरहेको तस्विर राख्दैनन्, न राहत प्राप्त गरेको व्यक्तिको नाम नै सार्वजनिक गर्छन । कसैको अस्मितामा आँच नआओस भनेर यस्तो गरेको उनीहरु बताउँछन् ।

पछिल्लो समय आएर समाजिक संस्था सानो पाइलालेपनि उनीहरुलाई आर्थिक सहयोग गरेको छ । समुहले आज लगभग ५० परिवारलाई २ हफ्ता भन्दापनि बढी समयसम्म पुग्ने खाद्यान्न सहयोग गरेका जनाएको छ ।

उनीहरुले विभिन्न व्यक्तिहरुबाट आएको सुझावका अधारमा प्रभावित परिवारहरुको एउटा सुचीनै तयार पारेर सहयोग गर्न थालेको समुहका एक सदस्य सौरभ साहले बताए ।

'हामीले सामाजिक सञ्जाल, टोल छिमेकमा आफै देखेर बुझेर थाह पाएको र अन्य स्रोतहरुबाटपनि जानकारी लिएर लकडाउनबाट प्रभावित परिवारको सुची तयार गर्छौं,' सौरभले भने, 'अनि अर्को दिन सबै साथिहरु एक ठाउँमा बिहानै जम्मा भएर सबै सामग्री प्याकिङ गर्छौं र आफ्नो मोटरसाइकलमा राखेर बाँडछौँ ।

समुहका अर्का सदस्य विक्की सर्राफ भन्छन, 'हामीले यदी यस्तो समयमापनि आवश्यकतामा रहेका व्यक्तिलाई सहयोग गरेनौं भने हामीले आफुलाई युवानै किन भन्ने? सबैको अवस्था एक जस्तो हुदैन, हामीलाई पो खाने कुराको खाँचो भएको छैन तर कयौं यस्ता परिवार छन् जहाँ दुई दिनदेखि चुलो समेत बलेको छैन । उनीहरुलाई सहयोग गर्नु हाम्रो दाइत्व हो ।'

समुहले आवश्यक परेको व्यक्तिलाई रगतदेखि लिएर एम्बुलेन्श व्यस्थासमेतमा सहयोग गर्छ ।

Back to top