वीरगञ्ज १६ भदौं । पर्सासँगसँगै बारामा पनि कोरोना सङ्क्रमण बढ्ने क्रम रोकिएको छैन । आज मात्रै बारामा थप १० जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।
जिल्ला प्रशासन कार्यालय बाराले उपलब्ध गराएको जानकारी अनुसार १ महिलासहित थप १० जनामा सङ्क्रमण देखिएको हो । आज थपिएका १० जनालाई मिलाएर बारामा अब कोरोनाभाइरस सङ्क्रमितहरुको संख्या एक हजारको हाराहारीमा पुगेको छ।
हालसम्म बारामा ९ सय १७ जना जम्मा सङ्क्रमित रहेका छन् । जसमा ७ सय ४६ जना पुरुष र १ सय ७१ जना महिला रहेको जीप्राका बाराको तथ्यांकले देखाएको छ ।
त्यसैगरी बारामा अहिलेसम्म १ महिलासहित १६ जनाले कोरोना सङ्क्रमणबाट ज्यान गुमाएका छन् ।
जिल्लामा ३ सय २५ जना कोरोनामुक्त भइसकेका छन् ।